सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका दुई स्थानमा पहिरो, १० को मृत्यु

अरुलाई पनि शेयर गरौ !

सिन्धुपाल्चोक,साउन १९ । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा दुई स्थानीयको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको टहरो पुरेको बताउनुभयो । उहाँका अनुसार पहिरो पन्छाएर टहरोबाट आठको शब निकालिएको छ । मृतकमध्ये दुईको मात्र पहिचान खुलेको छ । मृतक ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरीको सनाखत भएको डिएसपी काफ्लेले जनाउनुभयो । उहाँहरु दुबै वीरगञ्जका हुनुहुन्छ । भारतीय नागरिकसहित ६ शबको पहिचान हुन सकेको छैन । घाइते भारतीय नागरिक बारु शाहलाई उपचारको लागि हेलिकप्टरबाट राजधानी लगिएको छ । उहाँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा उहाँको उद्धार गरिएको थियो । उपचारका लागि धुलिखेलतर्फ लगिए पनि सडक अवरुद्ध भएपछि उहाँलाई पुनः मेलम्ची फर्काइएको थियो । जिरोकिलो–मेलम्ची खण्डको जर्के खोलामा पहिरोले सडक अवरुद्ध छ । टहरोमा कभर्डहल निर्माणमा संलग्न मजदुर सुतिरहेका थिए । मेलम्ची बजारमा केही समययता कभर्डहल निर्माण भइरहेको छ । झण्डै १५–२० मिटरमाथिबाट खसेको पहिरोले टहरो पुरेको थियो ।
श्रीमान्–श्रीमतीकै मृत्यु
पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ । माथिबाट खसेको पहिरोले बिहान दुई बजेतिर घर पुर्दा स्थानीय ४३ वर्षीय यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती ४२ वर्षीया लक्ष्मी सिलवालको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । स्थानीयले पहिरो पन्छाएर शब निकालेको उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts