लक डाउनको अवधिमा ताप्लेजुङमा आत्महत्या र करणी घटना उल्लेख्य
खगेन्द्र अधिकारी
ताप्लेजुङ, साउन १४ । लक डाउनको अवधिमा ताप्लेजुङमा आत्महत्या गर्नेको संख्या अत्यधिक रहेको बेला जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना पनि उत्तिकै भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लक डाउन सुरु भएको महिना चैत देखि साउन दोस्रो साताको अवधिमा १५ जनाले आत्महत्या गरेका छन् । यो अवधिमा जबरजस्ती करणीका ९ वटा र जबरजस्ती करणी उद्योगका ४ वटा गरी करणी शीर्षकमा १३ वटा घटना भएका छन् । आर्थिक बर्ष २०७६।०७७ को एकबर्षे अवधिमा जबरजस्ती करणीका ११ र जबरजस्ती करणी उद्योगका ९ गरी २० वटा घटना भएका थिए । लक डाउन अवधिको साढे ४ महिना हाराहारीमा मात्रै करणी शीर्षकमा १३ वटा घटना भएका छन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार झुण्डीएर आत्महत्या गर्नेको संख्या अधिक रहेको छ । १५ वटा आत्महत्याका घटनामध्ये एकजनाले बिष सेवन गरी आत्महत्या गरेको बाहेक बाँकी सबै १४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषको संख्या बढी रहेको पाईएको छ । ८ जना पुरुष र ७ जना महिलाले यो अवधिमा आत्महत्या गरेका छन् । तमोर नदीमा शव भेटिएका १ महिला र १ पुरुषको घटनाबारे अनुसन्धान भईरहेकोले यसलाई प्रहरीले हत्या वा आत्महत्या दुबै सूचीमा राखेको छैन । प्रहरी प्रमुख डिएसपी श्रेष्ठले नदीमा शव भेटिएका २ जनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको बताउँदै केहि समयमै अनुसन्धान रिर्पोट सार्वजनिक गर्ने बताउनुभयो । आत्महत्या गर्नेमा बालबालिकाको संख्या पनि उल्लेख्य रहेको प्रहरीले बताएको छ । लक डाउन अवधिमा आत्महत्या गर्ने १५ मध्ये ५ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
के हो आत्महत्या ? के ले आत्महत्या गर्न प्रेरित गर्छ
मनोबिश्लेषक बासु आचार्यका अनुसार सामान्यतया आत्महत्या भन्नाले आफूले आफूलाई मार्नु भन्ने बुझिन्छ । मानिसहरु कहिल्यै मर्न चाहँदैनन् तर कुनै बेला यस्तो परिस्थिति पनि सिर्जना हुन्छ जब मानिसले मर्नुको कुनै विकल्प देख्दैन, मर्नुलाई नै समाधान ठान्छ । अनि यही अवस्था आत्महत्याको प्रेरणा मानिन्छ । यो आफैंमा रोग चाहिँ होइन, तर मनोरोगको परिणाम चाहिँ हो । आत्महत्याका लागि धेरै पक्षहरुले प्रेरित गरिरहेका हुन्छन् । त्योमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको डिप्रेसन हो । त्यसबाहेक लागुऔषध र मद्यपानले मानिसलाई आत्महत्या गर्न पनि प्रेरित गर्छ । सिजोफेनिया र बाइकोलार जस्ता जटिल मानसिक समस्याका कारण पनि मानिसले आत्महत्या गर्छ । जुन व्यक्ति व्यक्तित्व विकार र दीर्घकालिन रोगहरुबाट ग्रसित हुन्छ, त्यस्ता मानिसमा आत्महत्याको सोच विकास हुन्छ । अनि उनीहरुले आत्महत्या गर्ने सम्भावना पनि बढी हुन्छ । आपराधिक घटनामा संलग्नताले भने मानिसमा अचानक आत्महत्याको सोच आउँछ । फेरि डिप्रेसन पनि ३ प्रकारका हुन्छन् । सामान्य, मध्यम र मेजर डिप्रेसन । मेजर डिप्रेसन सबैभन्दा भयानक अवस्था हो । यो अवस्थामा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना झन्डै सतप्रतिशत नै हुन्छ । यस्ता व्यक्तिहरु पूर्णरुपमा आत्महत्या गर्न तयारी भएर बसेका हुन्छन् । मेजर डिप्रेसनले मानिसलाई समाजमा टिक्नै नसक्ने महशुस गराउँछ । यसले मानिसलाई आफ्नो नियन्त्रण भन्दा बाहिर धकेल्छ । त्यसपछि मानिसले बाँच्नुपर्छ भन्ने सोच्नै छोडिदिन्छ । दिमागमा म केही गर्न सक्दिनँ, यो दुनियाँमा मजस्तो असफल र अभागी मान्छे कोही छैन भन्ने कुरा मात्र आउँछ । स्वस्थ मानिसमा यस्तो कुरा एक, दुई पटक मात्र आउँछ । तर जो डिप्रेसनको शिकार भएको छ उसले २४ घण्टा त्यही कुरा मात्र सोचिरहेको हुन्छ । कोही व्यक्तिलाई त यस्तो हुन्छ की निदाउँदा सपनामा पनि म असफल र बेकारको मान्छे हुँ भन्ने कुरा मात्र आउँछ । त्यो बेला मान्छेले आत्महत्याको सोच बनाउँछ ।