नेकपा बिवाद ः दुवै पक्ष समानान्तर शक्ति संघर्षमा

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १४ । सत्तारुढ दल नेकपाभित्रको विवाद समानान्तर शक्ति संघर्षतर्फ उन्मुख भएको छ । पार्टी एकीकरणको काम नसकिँदै मौलाएको आन्तरिक विवाद विग्रहतिर उन्मुख बनेको छ । विवाद समाधानका लागि एक महिनादेखि स्थायी कमिटी बैठक स्थगित हुँदै आएको थियो । यसबीचमा सहमतिको बाटो नभेटिएपछि मंगलबार एक पक्ष बैठक स्थगित गर्ने र अर्को पक्ष सञ्चालन गर्ने उपक्रममा जुटे । यसले विवाद नयाँ चरणमा प्रवेश गरेको देखाएको छ । मंगलबारका लागि तय गरिएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श नगरी स्थगित गरिदिनु भएको थियो । त्यसपछि दाहालसहितको असन्तुष्ट पक्षले भने बैठक सञ्चालन गरेको थियो । यसबाट नेकपामा समानान्तर शक्ति संघर्ष स्पष्ट देखिएको छ । जतिसुकै विवाद भए पनि विगतमा एक पक्षले अर्को पक्षलाई बाइपास गरेर बैठक स्थगित वा सञ्चालन गर्ने काम भएको थिएन । मंगलबार बैठक सुरु हुनुपहिले दुई अध्यक्षले बैठकमा उठ्न सक्ने विषय व्यवस्थापनका लागि छलफल गर्ने भनिए पनि त्यो हुन सकेन । उहाँहरुबीच राम्रोसँग संवाद नै हुन सकेन । बालुवाटारमा दाहाल–नेपाल समूहले बैठक चलाइरहँदा ओली समूहका प्रभावशाली नेता सुवास नेम्बाङले आफूलाई बैठक स्थगित भएको मात्र जानकारी रहेको, बैठक बसेको जानकारी नभएको प्रतिक्रिया दिनु भएको थियो । सो बैठकमा ओली पक्षका कुनै पनि नेता सहभागी हुनु भएको थिएन । असन्तुष्ट पक्षको भेलालाई ओली समूहले ब्रिफिङमात्र भनी सन्देश प्रवाह गराएको थियो । दाहालको सचिवालयले भने यसलाई बैठककै रुपमा प्रस्तुत गरेको थियो । यसबाट पार्टी विभाजनतर्फ उन्मुख भएको महसुस भएको केही नेताले बताए । पार्टीका प्रभावशाली नेता भीम रावलले पार्टी व्यक्तिमा होइन, विधिमा चल्छ भन्दै दुवै अध्यक्ष मिलेर अरुको अस्तित्व अस्वीकार गर्न नहुने बताउनुभयो । असन्तुष्ट समूहको बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं, सल्लाह गरौं’ भन्दै ट्विट गर्नु भएको थियो । ओलीले स्थगित गरेको स्थायी समिति बैठक दाहाल–नेपाल पक्षले जारी राखेपछि नेकपाभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी एकता जोगाउन दुवै अध्यक्षले सहमति गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनु भएको छ । पार्टीका औपचारिक बैठकमा उठ्ने प्रश्नबाट कोही कसैले भाग्न नमिल्ने, समस्याको समाधान पार्टीबाटै खोज्नुपर्ने उहाँको धारणा छ । पार्टीभित्र विवाद चर्किंदै गर्दा उपाध्यक्ष वामदेव गौतम भने जनताको बहुदलीय जनवादको व्याख्या गर्न लागिपरेका छन् । एकता महाधिवेशनमा प्रस्तुत गर्नेगरी उनले ड्राफ्ट बनाएर झलनाथ खनाललाई समेत दिइसकेको स्रोतले जनाएको छ । साँझ प्रधानमन्त्री ओली महासचिव विष्णु पौडेलसहित गौतमलाई भेट्न उनको निवास गएका थिए । भेटमा पार्टीमा उत्पन्न विवाद समाधानका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

दाहाल–नेपाल शक्ति क्षयीकरण
असार १० गते सुरु भएको स्थायी कमिटी बैठक चलिरहेका बेला दाहाल–नेपाल समूहमा क्षयीकरण सुरु भएको छ । पार्टी उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापा ओलीसँग मिल्न पुग्नु भएको छ । स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझीलगायत पूर्वमाओवादी समूहका केही नेता प्रधानमन्त्रीको राजीनामा माग्न नहुने पक्षमा रहनु भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा अहिलेको समस्याको समाधान नभएको धारणा राख्ने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेशकुमार भट्टराई पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा रहनु भएको छ । वर्षमान पुन र शक्ति बस्नेतले पनि अहिलेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा प्रमुख मुद्दा नभई पार्टी सञ्चालन नै प्रमुख विषय भएकाले सबैको ध्यान त्यसतर्फ जानुपर्ने भन्दै आउनु भएको छ। यसले पार्टीभित्र प्रधानमन्त्री ओलीको राजीनामाको माग कमजोर बन्दै गएको छ ।

सहमतिको जिम्मा दाहाललाई
असन्तुष्ट पक्षको बैठकले स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गलत भएको ठहर गरेको छ । बैठकले अबका दिनमा अर्का अध्यक्ष ओलीसँग सहमति गरी स्थायी कमिटी बैठक अघि बढाउने जिम्मेवारी दाहाललाई दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सो बैठकमा उपस्थित हुन ओलीलाई दाहालले निमन्त्रण गरेको तर उहाँ उपस्थित नभएको श्रेष्ठले बताउनुभयो । बैठकलाई भेला भन्ने कि बैठक भन्ने भनेर पनि विवाद भएको थियो । घनश्याम भुुसालले भेला भनेपछि रघु पन्त र वेदुराम भुसालले बहुमत सदस्य उपस्थित भएकाले बैठक भन्नुपर्ने धारणा राखेपछि बैठक नै भएको उल्लेख गरिएको थियो । तर महासचिव विष्णु पौडेल उपस्थित नभएको र माइन्युट नभएका कारण त्यसलाई बैठक भन्न नमिल्ने कतिपयको तर्क छ ।

गौतमको ६ बुँदेले तरंग
उपाध्यक्ष वामदेव गौतमले पार्टी र सरकार सञ्चालनका लागि छबुँदे मध्यमार्गी धारणा सार्वजनिक गर्नु भएको छ । गौतमको यो धारणाले यसअघिको शक्ति सन्तुलन बदलिएको कतिपयको विश्लेषण छ । गौतमले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भन्दै ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री रहने, पुष्पकमल दाहाललाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष दिनुपर्ने जनाउनु भएको छ । पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, सरकारका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टी सचिवालयमा परामर्श गर्ने प्रस्ताव उहाँको छ । गौतमले मन्त्रिमण्डल पुनर्गठनको समेत प्रस्ताव गर्नु भएको छ । गौतमको प्रस्तावमा बालुवाटारमा छलफल हुँदै गर्दा दाहाल पुग्न ढिलो भएपछि ओलीले बैठक स्थगित गर्नु भएको थियो । त्यसपछि दाहाल र झलनाथ खनालले ओलीलाई बेग्लै भेट्नुभयो । त्यसपछि मात्रै स्थायी कमिटीका बहुमत सदस्यको बैठक बसेको थियो । (नागरिक अनलाईनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts