| |

अब समुदायसम्म कोरोना परीक्षण गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, साउन १२ ।
अब ताप्लेजुङमा प्रत्येक हप्ताको मंगलबार र शनिबार लाग्दै आएको हाटमा समेत नमूनागत रुपमा आरडीटी परीक्षण गरिने भएको छ । यसको सुरुवात भोली मंगलबारबाट गरिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।
समितिको सोमबारको बैठकले सेवाग्राही तथा उपभोक्ताको भीडभाड हुने क्षेत्रहरुमा नमूनाको रुपमा आरडीटी परीक्षण अघि बढाउने निधो लिएको हो । ‘यसको सुरुआत मंगलबारबाटै गर्दैछौं’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो । प्रजिअ निरौलाले गाउँ–गाउँमा परीक्षणको दायरा बढाउन मंगलबार नै यहाँका सबै स्थानीय तहका स्वास्थ्य संयोजकहरुलाई जिम्मेवारी दिने तयारी भएको समेत बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक स्थानीय तहका स्वास्थ्य संयोजकलाई पहिलो चरणमा ५० थानका दरले आरडीटी बितरण गरिने छ । स्वास्थ्य संयोजकले स्थानीय पालिका र पालिका अन्तर्गतका स्वास्थ्य संस्थामा अगुवाहरुको परामर्शमा सम्भावित स्वास्थ्य जोखिम क्षेत्रमा रहेका नागरिकहरुको आरडीटी परीक्षण गर्ने प्रवन्ध मिलाउने छन् । यसको जिम्मेवारी निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेललाई दिइएको प्रजिअ निरौलाले जानकारी दिनुभयो ।
यस्तै सेवाग्राहीको भीडभाड बढी हुने निकाय वा क्षेत्र छनौट गरी आरडीटी परीक्षणलाई बृहत्त र द्रुत अघि बढाइने निरौलाले कार्ययोजना सुनाउनुभयो । अहिले ताप्लेजुङमा करिव एक हजार २०० थान आरडीटी किट रहेको छ । आरडीटी परीक्षणमा एण्डीबडी पोजेटिभको संकेत देखिए कोरोना संक्रमण हो या होइन भनेर पत्ता लगाउन भने पीसीआर गर्ने तयारी रहेको निरौलाले सुनाउनुभयो ।


३४ जनाको स्वाब परीक्षणका लागि पठाइयो
कोरोना संक्रमित ३ सहित सोमबार ताप्लेजुङबाट ३४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाइएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामा अनुसार संक्रमित ३ सहित क्वारेन्टिन व्यवस्थापन तथा सुरक्षाका लागि खटिएका जनशक्ति र कोरोनाबिरुद्ध अग्रभागमा रहेर काम गर्ने सहित ३४ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो ।
अहिले फुङ्लिङस्थित भानुजन मावि अम्बिटार र ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन प्रयोगमा आइरहेको छ । पठाइएको स्वाबको नतिजा आउने बित्तिकै भानु माविमा रहेको क्वारेन्टिन स्थल खाली गर्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको तयारी रहेको छ । त्यसपछि भने फुङ्लिङ नगरपालिका वडा नं. ६ स्थित पाथीभरा क्षेत्र विकास समितिको प्रयोगविहीन भवन र निर्माणाधीन वृद्धाश्रम भवनलाई होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको समितिले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts