|

शुल्क उठाउन पाउनुपर्ने भन्दै प्याब्सन ताप्लेजुङले स्थानीय सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, साउन २ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दृष्ट गरेका शुल्कहरु सङ्कलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ । शुक्रबार प्याब्सनले फुङ्लिङ नगरपालिकामा ६ बुँदे ध्यानाकृष्टपत्र बुझाउँदै शैक्षिक सत्र २०७७ मा प्याब्सन आबद्ध बिद्यालयहरुले शिक्षा नियमावलीले तोकेको जिम्मेवारी पूरा गर्ने भन्दै नियमावली अनुसार शुल्क सङ्कलन गर्न पाउनुपर्ने जिकीर गरेको छ ।
प्याब्सनका जिल्ला अध्यक्ष दिनेश भट्टराई र सचिव देवराज गुरुङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा पठनपाठन सुचारु गर्ने प्रयोजनमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत बिद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायतका शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण मिलाई दिन नगरपालिकासँग आग्रह गरिएको छ ।
अनलाइन र भर्चुअल कक्षा वैकल्पिक शिक्षण पद्धतिमात्र भएकोले र दुर्गम क्षेत्रहरुमा यो पद्धति सबै बिद्यार्थीको पहुँचमा पुग्न नसक्ने यर्थाततालाई मध्यनजर गर्दै प्याब्सनले बिद्यालयमा डेस्क–बेञ्च सहितका आवश्यक पूर्वाधार पूरा गरी जोर–बिजोर प्रणालीमार्फत पठनपाठन गर्ने व्यवस्था मिलाउन नगरपालिका समक्ष प्रस्ताव गरेको छ ।


एक शैक्षिक सत्रका लागि १८० दिनदेखि १९२ दिन पठनपाठन गराउनुपर्ने हुँदा सोहीअनुसार हुने गरी चालू शैक्षिक सत्रका लागि केही सार्वजनिक बिदा, जाडो बिदा र अन्य बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेण्डर जारी गर्न नगर शिक्षा समितिको ध्यानाकृष्ट गरिएको छ । ध्यानाकर्षण पत्रमार्फत प्याब्सनले शैक्षिक सत्र २०७६ को बिद्यार्थीको बाँकी बक्यौता समेत उठाउन नसकेको र नयाँ शैक्षिक सत्रमा समेत कुनै पनि शीर्षकमा शुल्क सङ्कलन नगर्न सरकारले निर्देशित गरेको अवस्थामा शिक्षक तथा कर्मचारीलाई दिइने तलबभत्ता सहितका अन्य खर्चको व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ ।
यस्तै घर जग्गा बहाल कर, व्यवसायिक कर लगायतका अन्य महशुलहरुमा छुटको व्यवस्था गर्न समेत प्याब्सनले माग गरेको छ । ध्यानाकर्षण पत्र बुझाउने क्रममा प्याब्सनका १ नं प्रदेश सहकोषाध्यक्ष दिनेश प्रसाई, पूर्व केन्द्रीय सदस्यद्वय युवराज गिरी र काजीमान पालुङ्वा, पूर्व जिल्ला अध्यक्ष तथा प्रमुख सल्लाहकार इन्द्रकुमार गुरुङ, उपाध्यक्ष गणेश सिग्देल सहितका प्याब्सन ताप्लेजुङका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
५ गतेका लागि बृहत्त छलफल
प्याब्सनले बिद्यालय सञ्चालन र शुल्क सङ्कलन सहितका व्यवस्थाका लागि ध्यानाकर्षण पत्र बुझाएपछि फुङ्लिङ नगरपालिकाले यसको निकासका लागि भन्दै आउँदो सोमबार बृहत्त शैक्षिक बहस गर्ने भएको छ । नगरप्रमुख छत्रपति प्याकुरेलले नगरक्षेत्र भित्रका माध्यमिक तहका प्रधानाध्यापक, पेशागत संघ÷संगठनका नेतृत्वकर्ता, शिक्षक महासंघका पदाधिकारी, प्याब्सनका पदाधिकारी, नगर शिक्षा समितिका पदाधिकारी र शैक्षिक अगुवा तथा सञ्चारकर्मीहरुको बृहत्त छलफल डाकिएको बताउनुभयो । उहाँले छलफलबाटै सामुदायिक र संस्थागत बिद्यालयहरुको तात्कालिक योजना र धारणा बनाउन सकिने जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts