| |

ताप्लेजुङमा दुईजनामा सङ्क्रमण पुष्टि, नेपालमा साढे १५ हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार २१ । ताप्लेजुङमा एक महिलासहित दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट स्वास्थ्य परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएका २० जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पाख्रेलका अनुसार फुङ्लिङ नगरपालिका–८ की महिला र पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण देखिएको दोखुकी महिला कतारबाट र चाक्सिबोटेका पुरुष दुवईबाट केही दिनअघि स्वदेश फर्किएका थिए । स्वदेश फर्किएसँगै जिल्ला आइपुगेपछि उनीहरुलाई सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य सङ्घको क्वारेन्टाइनमा राखिएको थियो ।
उद्योग बाणिज्य सङ्घसहित जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका २० जनाका स्वाब (नमुना) सङ्कलन गरी स्वास्थ्य परीक्षणका लागि विराटनगर पठाइएकोमा अन्य १८ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख पोख्रेलले जानकारी दिनुभयो । यता कोरोना पुष्टि भएका दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेशन कक्षमा राखेर उपचारको व्यवस्था गरिएको पोख्रेलले बताउनुभयो ।
यसअघि साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका एकजना पुरुषमा जिल्लामा पहिलो पटक कोरोना पुष्टि भएको थियो । आइतबार दोस्रो पटक एकजना महिला र एक पुरुषसमेत दुईजनामा कोरोना पुष्टि भएको जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।
यता पछिल्लो २४ घण्टामा थप ताप्लेजुङसहित २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको हो । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७–२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२–१२ जना र प्युठानका ११ जना छन् ।

डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७र७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४–४ जना, डोटीका ३ जना, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एक–एक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts