सिदिङ्वाले ३५ प्रकारका औषधि बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेका ३५ प्रकारका औषधि गाउँपालिका भित्रका नागरिकलाई बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने घोषणा गरेको छ ।
आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट तथा नीति र कार्यक्रममार्फत सिदिङ्वाले उक्त घोषणा गरेको हो । गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङका अनुसार स्वास्थ्य,कृषि र पर्यटन क्षेत्रलाई बिशेष आधार मानेर ल्याईएको बजेटमा कोभिड–१९ को प्रभाव र असर बिरुद्धको अभियानमा अनुकुलित हुने अधिकाँस कार्यक्रम समेटिएका छन् । ‘गाउँपालिका भित्रका नागरिकलाईसरकारले निःशुल्क उपलब्ध गराउने औषधि बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने छौं’उपाध्यक्ष ताम्लिङले भन्नुभयो‘यसका लागि जनशक्ति र औषधिको व्यवस्थापनमा गाउँपालिकाले जस्तोसुकै योगदान समेत गर्नेछ’ । गाउँपालिकाले साब्लाखु स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्र(पीएचसी)को रुपमा स्तरोन्नती गर्ने भनेको छ । प्राथमिक स्वास्थ्य केन्द्र बन्नु अघि नै साब्लाखु स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा ल्याउने र ६५ बर्ष माथिका नागरिक,एकल महिला तथा पुरुष र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ल्याव सेवा दिने गाउँपालिकाको घोषणा छ । अहिले सम्म ताप्लेजुङमा मैवाखोलाको ढुङ्गेसाँघु र सिरिजङ्घाको तेल्लोकमा मात्र प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । गाउँपालिका भित्रका कोहि पनि नागरिकको अकालमा ज्यान नजाओस् भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरी पालिकाभित्रका रोगीहरुको उपचार पहुँच स्थापना गर्ने समेत घोषणा गरेको छ । सो एम्बुलेन्समा ६० बर्ष माथिका नागरिक,बेपत्ता तथा शहीद परिवार र सुत्केरी महिलालाई ५० प्रतिशत सेवा शुल्क मिनाहा गर्ने गाउँपालिकाले घोषणा गरेको छ । गाउँपालिका भित्रका वडामध्ये कम्तिमा एउटा वडा छनौट गरी त्यहाँका ८० बर्ष भन्दा माथिका नागरिकहरुको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने कार्यक्रम समेत गाउँपालिकाले राखेको छ । गाउँपालिकाले बर्षमा कम्तिमा एकचोटी गाउँपालिकाको पायक पर्ने केन्द्रमा गाउँपालिका स्तरीय बृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ६० बर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयंसेविकालाई बिदा गर्ने नीति लिएको छ भने गर्भवती महिलाको सम्मानका लागि पोषण र स्वास्थ्यमा टेवा पुग्ने गरी प्रोत्साहन कार्यक्रम ल्याउने भएको छ । गाउँपालिकाले प्रदेश र संघीय सरकारका सदस्यलाई झैं अध्यक्ष÷उपाध्यक्ष निर्दिष्ट कार्यक्रम र कार्यपालिका सदस्य कार्यक्रम ल्याएको छ । अध्यक्ष÷उपाध्यक्ष निर्दिष्ट कार्यक्रमका लागि २० लाख र कार्यपालिका सदस्य कार्यक्रमका लागि १५ लाख रुपैंया बिनियोजन गरिएको छ । साना–साना तत्काल नगरी नहुने योजना र कार्यक्रम जुन बेला आवश्यक पर्छ,त्यहिँ बेला सम्बोधन गर्ने गरी अध्यक्ष÷उपाध्यक्ष निर्दिष्ट कार्यक्रम ल्याईएको छ भने कार्यपालिकाका सदस्यहरुलाई सबै वडामा सम्बोधन हुने गरी बजेटको परिधि भित्र रही योजना छान्ने अधिकार दिईएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts