सेना, प्रहरी र सशस्त्रले आफैं पीसीआर जाँच्ने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार १८ । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् । फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले सैनिक अस्पताल, छाउनीमा राख्ने गरी पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सशस्त्र प्रहरीले पनि मेसिन खरिदका लागि टेण्डर खुलाएको सशस्त्र प्रहरी अस्पतालका डीएसपी डा. प्रविण नेपालले बताउनुभयो । नेपाल प्रहरी अस्पतालमा पनि बुधबार पीसीआर मेसिन राखिएको छ । यसको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेको अस्पतालका एसएसपी सञ्जय श्रेष्ठले बताउनुभयो । ‘केही प्राविधिक पक्ष मिलाउन बाँकी छ, केही दिनपछि पूर्ण रुपमा सञ्चालनमा आउँछ’, श्रेष्ठले थप्नुभयो ।
अभियुक्तको म्याद थप्दा पीसीआर रिपोर्ट अनिवार्य
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाका अनुसार ८ असारमा जिल्ला अदालत, काठमाडौंले पीसीआर रिपोर्ट नल्याएको भन्दै विद्युतीय कारोबार सम्बन्धी ऐनका एक अभियुक्तलाई फिर्ता गरिदिएको थियो । थापाले भन्नुभयो, ‘अदालतले अभियुक्तसँगै रहने सुरक्षाकर्मीको पनि पीसीआर जाँच्न भनेको थियो ।’ तर, प्रहरी अधिकृतलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा प्रहरीकहाँ नै जाँच्ने भन्दै फर्काइयो । ‘पहिले प्रयोगशालामा पठाउँदा प्रहरीले नै जाँच्छ भनेर फर्काइएको थियो, प्रहरी अस्पतालमा अहिले पीसीआर उपकरण जडान भएको छ’, थापाले सुनाउनुभयो, ‘हाल प्रहरी अस्पतालमै स्वाब संकलन गरेर प्रयोगशाला पठाउने गरिएको छ ।’
मिसनमा जान पनि पीसीआर रिपोर्ट
नेपाली सेनाका एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदैछन् । महामारीका कारण तीन महिना रोकिएको बदली पुनः सुरु भएसँगै उनीहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको छ । यूएनले उनीहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैले जाँचका लागि सेनाले पनि आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
स्रोत ः अनलाईन खबर

अरुलाई पनि शेयर गरौ !

Similar Posts