नेपाल परिवार विकास प्रतिष्ठानको सर्बेक्षण ः ‘करिव ९२ प्रतिशत अभिभावक खुल्ने बित्तिकै बालबच्चा बिद्यालय पठाउन तयार छैनन्’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १६ । नेपालका करिव ९२ प्रतिशत अभिभावकहरु आफ्ना बालबच्चालाई बिद्यालय खुल्ने बित्तिकै बिद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिबेदन सार्वजनिक भएको छ । आफ्ना बालबच्चालाई तत्कालै बिद्यालय पठाउन तयार नहुने अभिभावकहरु मध्ये आधाभन्दा बढीले स्थिति सामान्य भएपछि मात्र पठाउन चाहेको बताएका छन् भने त्यो भन्दा केहि कमको धारणा भने कोभिड–१९ संक्रमणको दर शुन्य भएपछि मात्र बिद्यालय पठाउन सकिने प्रकृतिको छ । बालबालिकाको पठनपाठनका लागि तत्कालै बिद्यालय सञ्चालन गर्नुपर्छ या केहिदिन पर्खनु पर्छ भन्ने बारेमा अभिभावकको धारणा बुझ्न नेपाल परिवार विकास प्रतिष्ठानले सञ्चालन गरेको अनलाईन सर्बेक्षण प्रतिबेदनको नतिजा यस्तो आएको हो । प्रतिष्ठानका व्यवस्थापक तथा प्रमुख सर्बेक्षक अनुप अधिकारीका अनुसार ७ प्रदेशका ६ सय २८ जना अभिभावकलाई अनलाईन सर्बेक्षणमा सहभागी गराइएको थियो । उहाँका अनुसार प्रदेश १ का ८१, प्रदेश २ का ३६,बाग्मति प्रदेशका ३६६,गण्डकी प्रदेशका ५१,प्रदेश नं ५ का ४८,कर्णाली प्रदेशका १९ र सुदुरपश्चिम प्रदेशका २९ जना अभिभावकलाई अललाईन सबेक्षणमा सहभागी गराईएको थियो । बन्दाबन्दीको अवस्थामा अभिभावकहरुलाई परेको प्रभाव,बालबच्चालाई तत्कालै बिद्यालय पठाउन तयार भए÷नभएको अवस्थाको पहिचान,बिद्यालयले गरेको अनलाईन कक्षा बारे अभिभावको धारणा,बन्दाबन्दीमा बिद्यालय तहका बिद्यार्थीले कसरी समय बिताईरहेका छन् र यो बेला बिद्यार्थीको व्यवहारमा आएको परिवर्तन कस्तो छ भन्ने बारेमा अनलाईन सर्बेक्षण अध्ययन केन्द्रित थियो । सर्बेक्षणको नतिजाले ९१.६ प्रतिशत अभिभावकले बन्दाबन्दी खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई बिद्यालय पठाउन तयार नभएको प्रतिक्रिया दिएका छन् भने ८.४ प्रतिशतले भने बिद्यालय सञ्चालन भएको अवस्थामा आफ्ना बालबच्चालाई तत्कालै बिद्यालय पठाउन तयार रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल परिवार विकास प्रतिष्ठानका अनुसार बिद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई बिद्यालय पठाउनमा सबैभन्दा बढी त्रास कर्णाली प्रदेशका अभिभावकमा देखिएको छ । त्यहाँका सतप्रतिशत अभिभावक बिद्यालय खुल्ने बित्तिकै बालबच्चा बिद्यालय पठाउन तयार छैनन् । त्यसपछिको त्रास गण्डकी प्रदेशमा देखिएको छ । त्यहाँका ९४.१ प्रतिशत अभिभावक बिद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई बिद्यालय पठाउने पक्षमा छैनन् । प्रदेश १ का ९३.८ प्रतिशत अभिभावक बिद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई बिद्यालय पठाउन तयार नरहेको बताएका छन् । यस्तै बाग्मति प्रदेशका ९१.५ प्रतिशत,प्रदेश २ का ८८.९ प्रतिशत,प्रदेश ५ का ८७.५ सुदुरपश्चिम प्रदेशका ८६ प्रतिशत अभिभावक बिद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई बिद्यालय पठाउन तयार छैनन् । अधिकारीका अनुसार तत्कालै बिद्यालय पठाउन तयार नहुने अभिावकले स्थिति सामान्य भएपछि मात्र बिद्यालय पठाउने धारणा राखेका छन् । ४५ प्रतिशतले स्थिति सामान्य भएपछि मात्र बिद्यालय पठाउने भनेका छन् भने ४० प्रतिशतले संक्रमणको जोखिम शुन्य भएपछि मात्र बिद्यालय पठाउने भनेका छन् । ४.५ प्रतिशतले बिद्यालय सञ्चचालनमा आउन थालपछि बिद्यालय पठाउने भनेका छन् भने करिव १० प्रतिशतले अवस्था हेर्ने र अरु अभिभावकले पठाउन थाले भने आफुले पनि पठाउने भनेका छन् ।
प्रतिष्ठानले बिद्यालय सञ्चालन भईहालेको अवस्थामा बिद्यालय प्रशासनले कुन–कुन व्यवस्था गर्दिए हुन्थ्यो होला जस्तो लाग्छ भनेर पनि अभिभावकलाई सोधेको थियो । सबेक्षणमा सहभागी मध्ये ८८.५ प्रतिशतको राय भौतिक÷सामाजिक दुरी कायम गरेर पठपाठन हुने व्यवस्था गर्नुपर्नेमा थियो । ६१ प्रतिशतले ज्वरो नाप्ने व्यवस्था गर्दा राम्रो हुन्छ भनेका छन् । उनीहरुको प्राथमिकता भौतिक÷सामाजिक दुरी भन्दा बढी ज्वरो नाप्नुपर्नेमा देखिएको सर्बेक्षक अधिकारीले बताउनुभयो । यस्तै ६९.६ प्रतिशतको राय साबुनपानी र स्यानीटाईजरको व्यवस्था गर्नुपर्नेमा छ भने ६७.५ प्रतिशतले मास्क अनिवार्य गरेमा अरु मापदण्डलाई कम प्राथमिकता दिएपनि हुने राय दिएका छन् ।‘सामाजिक र भौतिक दुरी कायम, साबुनपानी र स्यानीटाईजरको व्यवस्था र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने मुख्यतःप्रमुख अपेक्षाको रुपमा आए‘अधिकारीले भन्नुभयो ।