संघीय सरकारको योजनाः ताप्लेजुङका २८३ योजना समावेश

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार ७ । आर्थिक वर्ष २०७७।०७८ को बजेटमार्फत ताप्लेजुङका लागि २ सय ८३ वटा योजना छानिएका छन् । सबैभन्दा बढी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन, वन वातावरण र भौतिक पूर्वाधार मन्त्रालयका छन् । वन तथा वातावरण मन्त्रालयमार्फत ६९, पर्यटन मन्त्रालयमार्फत ६२ र भौतिक पूर्वाधार मन्त्रालयका ४१ वटा योजना छानिएका छन् ।
यस्तै शहरी विकास मन्त्रालयका १९, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत बजेट उपशीर्षक नम्बर ३३७०११२२ का ५, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण कार्यक्रमका ७, सडक पूर्वाधार विकास कार्यक्रमका ७, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका ६ र राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका २ र रणनीतिक पुलहरुको विस्तृत सम्भाव्यता अध्ययन अन्तर्गतका योजना ७ र स्थानीय तहमा समपुरक अनुदान अन्तर्गतका १० योजना छानिएका छन् ।
यस्तै संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका १३, ऊर्जा, जलस्रोत र सिँचाई मन्त्रालयका २६, खानेपानी तथा सरसफाई मन्त्रालयका १९, युवा तथा खेलकुद मन्त्रालयका ६, महिला तथा बालबालिका मन्त्रालयका २, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १८ र कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा कृषि तथा भेटेनरीका लागि स्थानीय तहमा बित्तीय हस्तान्तरण कार्यक्रमसहित गरी १० वटा योजना छन् ।
आउँदो आवको बजेटमा देशका सय गन्तव्यभित्र समेटिएका पाथीभरा मन्दिर, फुङ्फुङ्गे झरना, तिम्बुङपोखरी, साढे ४ सयवर्ष पुरानो ठानिएको दिकी छ्योलिङ गुम्बादेखि लिएर सुकेटार बिमानस्थलको स्तरोन्नति सम्मको कार्यमा लागि बजेट बिनियोजन भएको छ । आश्रम, मठमन्दिर र गुम्बा संरक्षणदेखि लिएर पुरातात्विक महत्वका स्थानहरुको पुनर्निर्माण, पदमार्ग निर्माण, पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन, युमा साम्यो मुन्धुम हिम, माङ्गेना यक धार्मिक स्थल संरक्षण, लिम्बू संग्रहालय पर्यटन पूर्वाधार सहितका योजना रहेका छन् । शहरी विकास मन्त्रालयले सबै स्थानीय तहले माग गरेबमोजिम उसैसँग मिलेर सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना बिस्थापन गर्ने कार्यक्रमदेखि फुङ्लिङ बजारमा अलैँची स्तम्भ पार्क निर्माण सम्मका योजनाका लागि रकम छुट्टयाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले सडक बिभाग ललितपुरमार्फत कार्यान्वयन हुनेगरी तमोर करिडोरको चतरा–मुलघाट–माझीटार–दोभान–ओलाङ्चुङगोला सडकका लागि १ अर्ब १० करोड ५० लाख रकम बिनियोजन भएको छ । यो क्षेत्रका बिभिन्न २० स्थानमा पुलपुलेसा निर्माणका लागि समेत थप बजेट रहेको छ । बसन्तपुर–गुफा–ढुङ्गेसाँघु–दोभान हुँदै आउने मदन भण्डारी राजमाार्गसहित ६ वटा वैकल्पिक सहायक राजमार्ग छानेको यो मन्त्रालयले वैकल्पिक सहायक राजमार्गका लागि बढीमा २० करोड रुपैयाँसम्म रकम छुट्टयाएको छ । यो वर्ष फुङ्लिङ बजार बाहिरको बाइपास रोड निर्माण गर्न ३ करोड रकम बिनियोजन भएको छ ।
समपुरक अनुदानमार्फत फुङ्लिङमा ल्याण्डफिल साइड निर्माणदेखि लिएर पाथीभरा याङ्वरकमा खानेपानी र मेरिङ्देनमा बर्थिङ सेन्टर भवन समेत बन्ने छन् । संघीय मामला मन्त्रालयमार्फत यहाँका बिभिन्न स्थानीय तहमा झोलुङ्गे पुल निर्माण हुनेछन् । ऊर्जा तथा जलस्रोत मन्त्रालयमार्फत २२० केभीए क्षमताको सव स्टेशनका लागि ३ अर्ब ६ करोडको योजनादेखि लिएर काबेली ‘ए’ जलबिद्युत परियोजनाका लागि ३० करोड बढी रकम बिनियोजन भएको छ । खानेपानी मन्त्रालयमार्फत पाथीभरा क्षेत्रमा खानेपानी निर्माण हुने खानेपानी योजनाका लागि ४ करोड बिनियोजन भएको छ ।
युवा तथा खेलकुल मन्त्रालयमार्फत ताप्लेजुङमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताका लागि बजेट बिनियोजन भएको छ । स्थानीय तहमा खेलग्राम निर्माण, युवा पहिचान तथा सामाजिक जागरण रुपान्तरण र समृद्धिका लागि युवा परिचालन कार्यक्रम समेतका लागि बजेट रहेको छ । मैवाखोला गाउँपालिकामा रहेको ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाको अस्पताल बनाउन र सिरिजङ्घामा रहेको स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गर्न जनही ४–४ करोड बढी रकम बिनियोजन भएको छ । सबै स्थानीय तहका स्वास्थ्य संस्थाका लागि कम्तिमा २ करोड बढीका योजना छन् ।
हाङ्देवा पहिरो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयबाट २ करोड बजेट बिनियोजन भएको छ । यो मन्त्रालयमार्फत ६९ वटा योजना कार्यान्वयन हुनेछन् । प्रस्ताव पेश गरी कार्यक्रम र बजेट माग्न सकिने गरी महिला तथा बालबालिका मन्त्रालयमार्फत जेष्ठ नागरिक मिलन केन्द्र निर्माण र महिला उद्यमशिलता कार्यक्रम राख्न सकिने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts