एमालेले सञ्चालन गर्ने ‘मिसन ग्रासरुट’ अभियानका लागि ताप्लेजुङमा खटिए तीन केन्द्रीय नेता
ताप्लेजुङ,फागुन ३ । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियानका लागि ताप्लेजुङमा तीनजना केन्द्रीय नेता खटाएको छ ।
९ स्थानीय तह रहेको ताप्लेजुङमा खटिएका तीन नेता प्रत्येकले ‘मिसन ग्रासरुट’ अभियानका लागि तीन स्थानीय तहको जिम्मेवारी पाउनु भएको छ । जस अनुसार केन्द्रीय नेता खगेन्द्र राईले फुङलिङ नगरपालिका,आठराइ त्रिबेणी गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकामा सञ्चालन हुने अभियानको नेतृत्व गर्नुहुने छ । यस्तै नेता परशुराम मेघी गुरुङले मैवाखोला गाउँपालिका,मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा अभियानको नेतृत्व गर्नुहुने भएको छ । नेता जीतबहदुर दर्जी गौतमले फक्ताङलुङ गाउँपालिका,सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा अभियानको नेतृत्व गर्नुहुने एमालेले जनाएको छ ।
अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय नेताहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ । गत माघ २६ गते बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । फागुन ५ गतेबाट एमालेले सो अभियान सञ्चालन गर्ने भएको छ ।