ताप्लेजुङमा पहिलो पटक महिला प्रजिअ आउँदै,पोखरेलको सरुवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ७ । ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आउने हुन भएको छ । गृह मन्त्रालयबाट गोमा चेम्जोङ ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारी भएर आउने हुनु भएको हो ।
यहाँका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको काभ्रे सरुवा भएको छ । अहिले सम्म ताप्लेजुङमा कोहिपनि प्रमुख जिल्ला अधिकारी महिला रहनु भएको थिएन । सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलो पटक गीताकुमारी राई र त्यस लगत्तै गायत्रा अधिकारी खड्काले भूमिका निर्वाह गर्नु भएको थियो ।
यसअघि भोजपुर र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी भइसक्नु भएकी चेम्जोङ ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आउने भएसंगै ताप्लेजुङमा अब जिल्ला न्यायाधीस निर्मला योङ्यासंगै पहिलो पटक महिलाले प्रमुख जिल्ला अधिकारीको कमाण्ड सम्हाल्नु हुने छ । न्यायाधीस योङ्या पनि ताप्लेजुङमा पहिलो पटक महिला जिल्ला न्यायाधीसको रुपमा आउनु भएको थियो । उता उपसचिव स्तरका कर्मचारीले नेतृत्व सम्हालेयता जिल्ला सरकारी वकिल कार्यालयमा पनि पहिलो पटक महिलाले नेतृत्व सम्हाली रहनु भएको छ । अहिले जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख मौना सिंह रहनु भएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक बर्ष २०७९।८० को ६ महिना सम्ममा १ हजार ६ सय बढी नागरिकता बितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार चालू आवको पुस महिना सम्ममा १ हजार ६ सय ३२ थान नयाँ नागरिकता बितरण गरिएको छ ।
प्रशासन कार्यालयले पुस महिनामा मात्र ३ सय ७७ थान नागरिकता बितरण गरेको थियो । यस्तै १ हजार ३ सय २७ थान नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले १ हजार ७ सय राहदानी बितरण गरेको छ भने ४ सय ९ थान राहादानीको द्रुत सिफारिस गरेको छ । यस्तै २ हजार ३ सय ८० थान राहदानीको साधारण सिफारिस गरेको समेत प्रशासन कार्यालयले जनाएको छ ।

Similar Posts