| |

ताप्लेजुङमा चासोक तङ्नाम धुमधामसँग मनाइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २२ । ताप्लेजुङसहित पूर्व अर्थात प्रदेश १ अन्तर्गतका जिल्लाहरुमा बिहीबार चासोक तङ्नाम (न्वागी पर्व) धुमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रुपमा चासोक तङ्नाम मनाएका हुन् ।
किराँत लिम्बू समुदायले विविध मौलिक साँस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रुपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व भन्ने हुन्छ ।
महान् चाड चासोक तङ्नाम ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम लगायतका जिल्लामा लिम्बू समुदायले नयाँ बालीनाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धुमधामसँग मनाएका छन् । ताप्लेजुङमा सदरमुकाम फुङ्लिङसहित गाउँगाउँमा तङ्नाम (पर्व) को अवसरमा शुभकामना आदान–प्रदान, न्वागी पूजालगायत क्रियाकलाप गरेर मनाइएको छ ।
कार्यक्रममा लिम्बूले समुदायका नागरिकले आफ्नो मौलिक भेषभूषा र परिहरन लगाएर सहभागी भएका थिए भने अन्य समुदायका नागरिकसमेत चासोक तङ्नाममा सहभागी थिए । याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित साँस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताउनुभयो ।
यसैगरी किराँत राई, सुनुवार, याक्खा लगायतका आदिवासी जनजाति समुदायले पनि मौलिक चाडका रुपमा बिहीबार उधौली पर्व मनाएका छन् । आ–आफ्नो संस्कार संस्कृतिअनुसार चण्डी नाच, सेलो नाच प्रदर्शनसँगै प्रकृतिको पूजा गरेर उधौली पर्व धुमधामसँग ती समुदायले मनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts