| |

ताप्लेजुङमा चरम उत्कर्षमा पुग्यो अखिल क्रान्तिकारीको बिबाद,सुरु भयो एकअर्का बिरुद्धको विज्ञप्तिबाजी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १७ । ताप्लेजुङमा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको बिबाद चरम उत्कर्षमा पुगेको छ । एकपछि अर्को विज्ञप्तिबाजी सहित दुबै पक्षले आफुलाई वैध र अर्कोलाइ अवैध भन्न थालेका छन् ।

मंगलवार झरेन्द्र तिवारी अध्यक्ष र अनिता पन्दाक सचिव रहेको अखिल क्रान्तिकारीको ताप्लेजुङ जिल्ला कमिटीले अर्को समिति गठन भएको भ्रममा नपर्न विज्ञप्तिमार्फत अपिल गरेको छ । तिवारी र पन्दाकको हस्ताक्षर रहेको विज्ञप्तिमा साउन १४ गते अनेरास्वबियु क्रान्तिकारी ताप्लेजुङ जिल्ला कमिटीका नाममा जिल्ला सम्मेलन आयोजक कमिटी गठन प्रकृया अवैध रहेको दावी गरिएको छ । विज्ञप्तिमा तेञ्जित कार्की संयोजक र तारा श्रेष्ठ सहसंयोजक रहेको जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको भनेर अवैध कार्यक्रम गर्दै एउटा पक्षले भ्रम छरेको भनिएको छ । तिवारी अध्यक्ष र पन्दाक सचिव रहेको कमिटी नै अखिल क्रान्तिकारीको आधिकारिक जिल्ला कमिटी रहेको दावी गर्दै विज्ञप्तिमा संगठनको विधान,पद्धति र प्रकृया बिपरित गएर आफुसुखी मनमौजी तरिकाले कमिटी बनाएर भ्रम नछर्न पनि अर्को पक्षलाई चेतावनी दिइएको छ ।

संगठनका जिल्ला सहसचिव तेञ्जित कार्की,कोषाध्यक्ष तारानाथ श्रेष्ठ र सचिवालय सदस्य काजीमान बिष्टको नाम उधृत गर्दै तिवारी अध्यक्ष र पन्दाक सचिव रहेको कमिटीले संगठनको बिधि र बिधान भन्दा बाहिर गएर सांगठनिक हित बिपरित कार्य नगर्न सचेत गराएको छ । ७ जना पदाधिकारी रहेकोमा २ जना र ५७ जना सदस्य रहेकोमा एक तिहाइ भन्दा कम सिमित संख्याका सदस्य बसेर संगठन बिपरित अर्को कमिटी बनाउने कार्य गरेको भन्दै कार्की,श्रेष्ठ र बिष्टलाइ तिवारी अध्यक्ष र पन्दाक सचिव रहेको कमिटीले सचेत गराएको छ । बिपरित गए संगठनको बिधान २०७८ को भाग ४ को धारा ११ को उपधारा ५ र ६ तथा धारा ३५ बमोजिमको कारवाही प्रकृया थाल्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिईएको छ ।

यसअघि साउन १४ गते कार्की संयोजक र श्रेष्ठ सहसंयोजक रहेको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्दै अखिल क्रान्तिकारीको एउटा पक्षले अध्यक्ष तिवारी र सचिव पन्दाकलाइ अक्षम घोषणा गर्दै कारवाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यो पक्षले तिवारी र पन्दाकलाई जिल्ला अधिबेशन भएको बर्षदिन सम्म पनि संगठनको बैठक नराखेको,संगठनलाई व्यक्तिगत र कम्पनी जस्तो बनाई बिभाजन निर्दिष्ट कार्य गरेको भन्दै कारवाहीका लागि केन्द्रमा सिफारिस गर्दै कार्की संयोजक र श्रेष्ठ सहसंयोजक रहेको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको घोषणा गरेको थियो ।

माओवादी केन्द्रका १ नं प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज)को प्रमुख आथित्यतामा भएको उक्त भेलाले पुसको पहिलो साता जिल्ला सम्मेलन गरिसक्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ । जस अनुसार असोज मसान्त सम्ममा ताप्लेजुङ जिल्लाका सबै माध्यमिक बिद्यालय तथा क्याम्पसहरुको सम्मेलन गरिसक्ने,मंसिर मसान्त सम्मका ९ वटै स्थानीय तहमा सम्मेलन गरिसक्ने सहितका निर्णय सार्वजनिक गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts