|

माथिल्लो तमोर २२० केभी प्रसारण लाइनको वातावरणीय प्रभावका बारे लिइयो स्थानीयको राय सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २९ । माथिल्लो तमोर जलबिद्युत आयोजनाबाट उत्पादन हुने बिद्युतीय उर्जालाइ राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न बनाइने प्रसारण लाइनले पार्ने वातावरणीय प्रभावबारे सरोकारवालाको रायसुझाव लिइएको छ ।

तमोर सानिमा इनर्जी प्रालि मुख्य प्रस्तावक रहेको माथिल्लो तमोर २२० किलोभोल्ट प्रसारण लाइनको वातावरणीय प्रभावका बारेमा सानिमा हाईड्रो एण्ड ईञ्जिनियरिङ प्रालिले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन तयार पारेको हो ।‘तयार भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदनलाइ सरोकारवालाको राय सुझाव समेत समेटी अन्तिम रुप दिइने छ’सानिमा हाईड्रो एण्ड ईञ्जिनियरिङ प्रालिका महाप्रवन्धक सकुन्द ओझाले भन्नुभयो । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदनमा संलग्न वातावरणविद् शारदा पन्तका अनुसार २ सय २० केभी डबल सर्किट प्रसारण लाइन ४.७ किलोमिटर लामो हुने छ । यो प्रसारण लाइनमा फुङलिङ नगरपालिका वडा नं १० मा एउटा,मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा ५ र फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन क्षेत्रमा ७ वटा गरी १३ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । प्रसारण लाइनले ७ वटा सडक पार गर्नुपर्छ । प्रसारण लाइन क्षेत्रमा थुम्बा,मित्लुङ,खैरेनी,खुर्पादिन,फुरुम्बु,ठौवा,नाक्ला र लोरिन्दिन गरी ८ वटा नजिकका गाउँ पर्छन् ।

वातावरणविद् सुमन प्रजापतिका अनुसार प्रस्तावित प्रसारण लाइनमा सल्लेरी हाङगुडे सामुदायिक वन क्षेत्र पर्छ । यो सामुदायिक वन क्षेत्रमा मुख्य रुपमा वन जंगल,खेतियोग्य जमिन,घाँसे मैदान,बाँझो जमिन क्षेत्र र नदी बगर क्षेत्र रहेको छ । त्यहाँ नेपाल सरकारले संरक्षित वनस्पतिको रुपमा घोषणा गरेको साल प्रजातिको रुख समेत पाइने अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ । वातावरणविद् प्रजापतिका अनुसार अध्ययनका क्रममा प्रसारण लाइन निर्माण अवधिमा भौतिकका ८,जैविकका ७ र साँस्कृतिकका १६ वटा सवाल गरी ३१ तथा सञ्चालन अवधिमा भौतिकका ३,जैविक र साँस्कृतिकका ८–८ गरी जम्मा ५० वटा सवाललाइ मुख्य आधार बनाएको थियो । आयोजना कार्यान्वयनकोे क्रममा भने प्रभावित क्षेत्र र असरको प्रकृतिलाइ हेरेर ५१ वटा सावल पहिचान गरी तिनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा समेत प्रतिबेदनमा सुझाव दिईएको सानिमा हाईड्रो एण्ड ईञ्जिनियरिङ प्रालिले जनाएको छ ।

वातावरणविद् पन्तका अनुसार आयोजनाले २१ घरधुरीलाइ प्रत्यक्ष प्रभावित पार्ने छ । आयोजना सञ्चालनको क्रममा वन क्षेत्रबाट ५६ प्रजातिका १ हजार ५ सय ३५ वटा रुख कटान हुनेछन् । तर,वन क्षेत्रका रुख कटानका लागि भने आयोजनाले नेपाल सरकारको अनुमति लिने छ । आयोजनाले जैविक वातावरणमा पर्ने नकारात्मक असर कम गरी सकारात्मक असरको बृद्धि गर्न कटान गरिने रुखको क्षतिपूर्ति बापत १५ हजार ३ सय ५० वटा रुख रोप्ने भएको छ ।

आयोजनाले ८.३७०१ हेक्टर वन क्षेत्र प्रयोग गर्ने भएको छ भने सो क्षेत्र प्रयोग गरेबापत आयोजनाले १३ हजार ३ सय ९२ वटा थप बिरुवा रोपी वृक्षरोपण भएको क्षेत्रमा ५ बर्ष सम्मको हेरचाह समेत गर्ने जनाएको छ । निर्माणाधिन ७३ मेगावाट क्षमताको मध्यतमोर जलबिद्युत आयोजनाले यसअघि फुङलिङ नगरपालिका वडा नं १० मित्लुङबाट मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल बिद्युत प्राधिकारणको २ सय २० केभी स्टेशन सम्म पुग्ने प्रसारण लाइन निर्माण पछि हुने वातावरण प्रभावका बारेमा सरोकारवालाको सुझाव लिइ त्यसका असर र प्रभाव रोकथाम,न्यूनीकरण र अनूकुलन योजना समेत बढाइरहेको छ ।

अहिले २ सय ८५ मेगावाट क्षमताको माथिल्लो मध्य तमोर जलबिद्युत आयोजनाका लागि फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन हुँदै मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ हँुदै फुङलिङ नगरपालिका वडा नं १० मित्लुङमा अवस्थित मध्यतमोर जलबिद्युत आयोजनाको स्वीचयार्डमा टुङ्गिने गरी प्रसारण लाइन निर्माण बारे प्रभावित क्षेत्रमा पर्ने वातावरणीय प्रभावबारे स्थानीय बासिन्दाको राय सुझाव लिईएको हो । २ सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोर र ७३ मेगावाट क्षमताको मध्य तमोरबाट उत्पादित बिजुली गरी बिद्युत निर्माण कार्य पूरा भएपछि ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल बिद्युत प्राधिकारणको २ सय २० केभी स्टेशनमा गएर ३ सय ५८ मेगावाट बिद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts