ताप्लेजुङका अधिकाँस मतदानकेन्द्रका सामग्री मतदान अधिकृतले बुझे,४ स्थानको मतपेटिका हेलिकोप्टरबाट ल्याउने तयारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २७ । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा रहेका १ सय २२ वटा मतदान केन्द्रमध्ये फुङ्लिङ नगरपालिकाका ९ बाहेक सबै केन्द्रका मतदान अधिकृतहरुले मतदान सामग्री बुझेर लगेका छन् । बजार क्षेत्रमै रहेका फुङ्लिङका ९ मतदान केन्द्रको सामग्री भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमै रहेको छ । मुुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनको कार्य प्रगति बारे जानकारी गराएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले दुर्गम र बिकट क्षेत्रका मतदान केन्द्रहरुमा मतदान सामग्री सहित मतदान अधिकृत र कर्मचारीहरु पुगी सकेको बताउनुभयो ।’केहि क्षेत्रमा साँझ सम्ममा पुग्नु होला’उहाँले भन्नुभयो ।
४ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइने
ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रको ४ स्थानका मतपेटिका हेलिकोप्टरबाट ल्याइने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयसंगको समन्वयमा जिल्ला सुरक्षा समितिले गृह मन्त्रालय समक्ष ४ स्थानको मतपेटिका हेलिकोप्टबाट ल्याउने प्रवन्धका लागि अनुरोध गरेको थियो । जिल्ला सुरक्षा समितिले ओलाङचुङगोला,ग्याब्ला,घुन्सा र याङमाको मतपेटिका ल्याउन हेलिकोप्टरका प्रयोग गर्नुपर्ने सुझाव सहितको अनुरोधपत्र गृह मन्त्रालयमा पठाएकोमा गृह मन्त्रालयबाट सकारात्मक सन्देश सहितको लिखित पत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
६ सय ८३ जना निर्वाचन कर्मचारी परिचालित
मुख्य निर्वाचन अधिकृत राउतका अनुसार जिल्लाभरीका मतदान केन्द्रहरुमा ६ सय १ जना कर्मचारी परिचालित भएका छन् । यसमा मतदान अधिकृत,सहायक मतदान अधिकृत,सहायक कर्मचारी र सहयोगी कर्मचारी समेत रहेको राउतले बताउनुभयो । यस्तै फुङ्लिङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८ गाउँपालिकामा ८२ जना कर्मचारी परिचालित भएको समेत राउतले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० र अन्य ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा प्रत्येकमा ९ जनाका दरले कर्मचारी परिचालित भएका छन् ।
सेना बाहेक १ हजार ४ बढी सुरक्षाकर्मी परिचालित
जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार नेपाल प्रहरी,सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी जिल्लाभरका १ हजार ४ सय ४ जना सुरक्षाकर्मी परिचालित भएका छन् । यसमध्ये नेपाल प्रहरीका ४ सय ४४ जना,म्यादी प्रहरी ६ सय ५५ जना र सशस्त्र प्रहरीका ३ सय ५ जना सुरक्षाकर्मी परिचाालित गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । नेपाली सेनाका ३ सय देखि ४ सय जना सम्मको सुरक्षाशक्ति परिचिालित हुने समेत जिल्ला सुक्षा समितिले जनाएको छ ।
३ वटा बिष्फोटक पदार्थ निश्कृय टोली तयारी अवस्थामा
सुरक्षा सम्बेदनशिलतालाइ ख्याल गर्दै जिल्ला सुरक्षा समितिले नेपाली सेनाका ३ वटा बिष्फोटक पदार्थ निश्कृय टोली तयारी अवस्थामा राखेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा एक,फुङलिङको मित्लुङ क्षेत्रमा एक र मेरिङ्देन गाउँपालिका क्षेत्रमा एक गरी ३ वटा निश्कृय टोली तयारी अवस्थामा राखिएको छ ।
भौगोलिक हिसावले २ वटा पालिका सम्बेदनशिल
जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन समन्वय समितिले ताप्लेजुङको फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकालाइ सम्बेदनशिल क्षेत्रको रुपमा मूल्याङ्कन गरेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले यहाँ अरु सुरक्षा चुनौति नरहेपनि भौगोलिक विकटतालाइ आधार मानेर सम्बेदनशिल क्षेत्र निर्धारण गरिएको बताउनुभयो ।
मौसमको चुनौति सामना गर्न पूर्व तयारी
जिल्ला निर्वाचन समन्वय समितिले बर्षा लगायतको चुनौतिबाट बच्न पूर्व तयारी सहितको कार्ययोजना बनाएको जनाएको छ । जस अनुसार मतदान केन्द्रमा टेन्ट र पालको व्यवस्थाका लागि सम्वन्धित मतदान अधिकृतलाइ जिम्मेवारी दिइएको छ भने मतदान सामग्री समेत सुरक्ष्मिात गर्न सुरक्षाकर्मी सहितलाइ कम्तिमा प्लाष्टिकबाट निर्मित ‘रेनकोट’प्रवन्ध गर्न भनिएको छ ।
सहज रुपमा निर्वाचन सम्पन्न गरौं ः जिल्ला निर्वाचन समन्वय समिति
जिल्ला निर्वाचन समन्वय समितिले ताप्लेजुङमा अहिले सम्मका सबै निर्वाचन कार्यक्रम सहज,सन्तोषजनक र व्यवस्थित ढंगले भइरहेको भन्दै बाँकी निर्वाचन कार्यक्रम समेत सहज रुपमा सम्पन्न गर्ने वातावरणका लागि आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृत राउतले अहिले सम्म शान्तिपूर्ण र सहज रुपले निर्वाचन कार्यक्रम भइरहेको भन्दै अबका कार्यक्रममा समेत संयमता अपनाउन,शान्तिपूर्ण बनाउने भूमिका खेल्न र सबै मिलेर निर्वाचन कार्यक्रम सम्पन्न गर्न आग्रह गर्नु भएको छ ।