| |

ताप्लेजुङबाटै अक्सिजन बिक्री सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १० ।
कुनै समय अक्सिजनको निक्कै अभाव खेप्नुपर्ने अवस्था रहेको जिल्ला ताप्लेजुङबाटै अहिले अक्सिजन बिक्री गर्न सुरु गरिएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा अक्सिजन उत्पादन गरी बिक्री गर्न सुरु गरिएको हो ।
जिल्ला अस्पतालमा आजभन्दा चार महिनाअघि अक्सिजन प्लान्ट जडान गरिएको थियो । प्लान्ट जडानसँगै अक्सिजन उत्पादन हुन थालेको र अहिले यहीँ उत्पादित अक्सिजन बिक्री गर्न थालिएको छ । जिल्लामा प्लान्ट जडान गरेपछि अस्पताललाई पर्याप्त राखेर बिक्री गर्न पुग्नेगरी अक्सिजन उत्पादन हुँदै आएको बताइएको छ ।
अक्सिजन प्लान्टका अपरेटर तथा जिल्ला अस्पातलका बायोमेट्रिक टेक्निसियन प्रमुख सरोज चौधरीका अनुसार दैनिक पाँचदेखि १५ लिटर क्षमताका २० वटा सिलिन्डर भर्नेगरी अक्सिजन उत्पादन हुँदै आएको छ । जिल्ला अस्पताललाई पर्याप्त अक्सिजन भएको र हाल सदरमुकाम फुङ्लिङबाहेक जिल्लाका अन्य आठवटा गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा अक्सिजन निर्यात हुन थालेको चौधरीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाभित्र निर्माणाधीन विभिन्न हाइड्रोपावर कम्पनीहरुमासमेत यहाँ उत्पादन हुने अक्सिजन निर्यात तथा बिक्री गर्दै आएको जिल्ला अस्पतालकी सूचना अधिकारी विजया राईले जानकारी दिनुभयो । राईका अनुसार पाँचदेखि १५ लिटर क्षमताका सिलिन्टरमा अक्सिजन भर्नलाई पाँचसय रुपियाँ, १५ देखि ३५ लिटर क्षमताको एक हजार रुपियाँ र ३५ देखि ६५ लिटर क्षमताको सिलिन्टर भर्नका लागि एक हजार ५०० रुपियाँ शुल्क निधारण गरिएको छ ।
अस्पतालले निर्धारण गरेको उक्त मूल्यमा हाल अक्जिसन बिक्री तथा निर्यात हुँदै आएको जनाइएको छ । अस्पतालमा हाल सानो र ठूलो गरी ११८ वटा सिलिन्डरमा अक्सिजन भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको पनि जिल्ला अस्पतालले जानकारी दिएको छ । यता जिल्लाभित्रै बिक्री गर्न पुग्नेगरी अक्सिजन उत्पादन हुन थालेपछि सेवाग्राही खुसीसमेत भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts