बिओपी टोलीले पन्छायो गोलाबासीका घरको छतमा जमेको हिउँ,अबरुद्ध बाटो खुलाउन र हिउँले पुरिएका पानीका मुहान खोज्न समेत बिओपी सहयोगी बन्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १६ । उत्तरी ताप्लेजुङको मौवाटार(अहिले ओलाङ्चुङगोला)मा रहेको सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट(बिओपी)मा कार्यरत जनशक्तिले स्थानीयको घरको छमा जमेको हिउँ सफा गरिदिएर सहयोगी उदाहरण प्रस्तुत गरेका छन् ।

मंगलवारबाट अबिरल रुपमा परेको पानी र बर्षिएको हिउँ ओलाङ्चुङगोलामा स्थानीयको घरको छानामा ट्याम्मै थियो ।‘स्थानीयसंग मिलेर हामीले गोलाभरीका अधिकाँस घरका छानामा भेला भएको हिउँ हटायौं’बिओपी मौवाटारका सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले भन्नुभयो । प्राय अधिकाँस घरका छतमा जमेको हिउँ हटाउन शसस्त्र प्रहरी टोली घरका छाना–छाना चढेको थियो । गोलाका घरहरुमा अझै पनि काठको छाना रहेको छ । छानामा भेला भएको हिउँले छानामा जोखिम सृजना गर्ने र पानी समेत चुहिने र चिसो बढी हुने समस्या हुने भएकोले छाना सहित घर वरपरको हिउँ हटाउनु गोलाबासीका लागि अनिवार्य छ ।

अघिल्लो बर्ष सम्म गोलाबासी आफैंले आफ्ना घरको छतमा भेला भएको हिउँ आफैं हटाउँथे । यसबर्षबाट भने बिओपीमा कार्यरत सशस्त्र प्रहरी जनशक्तिले हिउँ हटाएर जनजीवन सामान्य बनाउन सघाएको छ । ३ फिटसम्म हिउँ जमेको गोलामा बुधवार सशस्त्र प्रहरीको टोलीले गोलाको मुख्य मार्गको हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरेको थियो । बिओपीमा कार्यरत जनशक्तिले हिउँले पुरिएका पानीका मुहान समेतको हिउँ हटाएको थियो ।

करिव ३ हजार २ सय मिटर उचाइमा रहेको ओलाङ्चुङगोलामा २ दिन लगातार हिउँ पर्दा जनजीवन कष्टकर भएको समयमा बिओपीमा कार्यरत जनशक्तिले हिँउ हटाएर स्थानीयको जनजीवन सामान्य बनाउन सघाएको छ ।

मौवाटारमा बिओपीको भवन निर्माण कार्य पूरा नहुञ्जेल सम्मका लागि गोलामा बिओपी टोली रहेको छ ।

तस्बिर सबै सौजन्य ः अनिल खड्का सप्रनी,बिओपी मौवाटार

अरुलाई पनि शेयर गरौ !

Similar Posts