|

सव–डिभिजन वन कार्यालयका लागि निःशुल्क जग्गा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार २२ । ताप्लेजुङको पश्चिमी आठराई त्रिबेणी गाउँपालिकाका दुईजना महिलाले वन कार्यालयलाई निःशुल्क जग्गा प्रदान गरेका छन् । आठराई त्रिबेणी गाउँपालिका–५ चाँगे बाँजोगराका मङ्गलमति एभेङ लिम्बू र शिला वनेम लिम्बूले दोभान सव–डिभिजन वन कार्यालयलाई चार रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
सव–डिभिजन वन कार्यालयको भवन बनाउनका लागि मङ्गलमति र शिलाले आफ्नो नाउमा रहेको १६ लाख रुपियाँ मूल्य बराबरको समान दुई-दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । मङ्गलमतिले स्वर्गीय श्रीमान आनन्दहाङ एभेङ लिम्बू तथा शिलाले स्वर्गीय ससुरा मोतीबहादुर वनेम र सासुआमा बुधरानी केदेम लिम्बूको स्मृतिमा जग्गा प्रदान गर्नुभएको हो ।
सव–डिभिजन वन कार्यालय दोभानका लागि उपलब्ध गराएको जग्गा वन कार्यालयकै नाउमा सोमबार मालपोत कार्यालय ताप्लेजुङमा रजिष्ट्रेशन पास गरिएको छ । रजिष्ट्रेसन पासपछि सोही दिन जग्गादाता द्वय डिभिजन वन कार्यालयमा उपस्थित भएर जग्गाको लालपूर्जा डिभिजन वन कार्यालय प्रमुख वीरेन्द्र शाहलाई हस्तान्तरण गर्नुभएको छ ।
यता जग्गाको लालपूर्जा बुझ्दै डिभिजन वन कार्यालय प्रमुख डिभिजन वन अधिकृत शाहले जग्गादाता दुवैजनालाई धन्यवाद दिँदै दोसल्ला र प्रसंशापत्रले सम्मान पनि गर्नुभयो । दाताले गरेको सहयोगको प्रशंसा गर्दै शाहले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सव–डिभिजन वन कार्यालयलाई जग्गा प्राप्तिका लागि सकारात्मक सहयोग गर्ने सामूदायिक वन उपभोक्ता महासङ्धका जिल्ला अध्यक्ष सुरज ओझा, आठराई त्रिबेणी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष लिम्बू लगायतलाई धन्यवाद दिनुभयो ।
उक्ता दोभान सव–डिभिजन वन कार्यालयका लागि प्राप्त जग्गामा आगामी आर्थिक वर्षको सुरुदेखि नै कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने डिभिजन वन कार्यालयले जनाएको छ । भवन निर्माणसँगै बाँकी जग्गामा नर्सरी व्यवस्थापन लगायतका योजनाहरु कार्यान्वयन गरिने डिभिजनल वन अधिकृत शाहले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts