| | |

ताप्लेजुङमा ५५ हजार बिरुवा रोपियो

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, साउन १४ ताप्लेजुङमा पछिल्लो एक वर्षमा झण्डै पचपन्न हजार बिरुवा रोपिएको छ । जिल्लाको विभिन्न क्षेत्रका निजी तथा सामुदायिक वन र कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत रहेका वनमा उक्त सङ्ख्यामा रुख तथा जडीबुटी प्रजातिका बिरुवा रोपिएको हो ।
ताप्लेजुङस्थित डिभिजन वन कार्यालय, कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनासहित वन संरक्षणको क्षेत्रमा क्रियाशील संस्थाहरुले गएको आर्थिक वर्ष २०७७/७८ मा करिव २० हेक्टर क्षेत्रफलमा कुल ५४ हजार ९०० बिरुवा रोपेका छन् । वृक्षरोपण गर्ने अन्य संस्थाहरुमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ र हिमाली संरक्षण मञ्च रहेका छन् ।
डिभिजन वन कार्यालयले सल्ला, रानी चाँप लगायत प्रजातिका करिव आठ हजार बिरुवा रोपेको जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वीरेन्द्र शाहका अनुसार मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित रमितेफेदी सामुदायिक वनमा सो वृक्षरोपण गरिएको डिभिजनल वन अधिकृत शाहले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सामुदायिक वन क्षेत्रको करिव पाँच हेक्टर क्षेत्रफलमा जापानिज, खोटे सल्ला, रानीचाँप र दाँते ओखरका बिरुवा रोपिएको छ ।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ ताप्लेजुङले करिव ११ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको जनाएको छ । जिल्ला महासंघका अध्यक्ष सुरज ओझाका अनुसार मिक्वाखोला गाउँपालिका–४ साँबाको आइखलम्बा फुङ्फुङगे सामुदायिक वन, वडा नं. ५ पापुङको बतासे दामली भित्ता सामुदायिक वन, हिमाली जडीबुटी सामुदायिक वन लगायतका क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
उक्त क्षेत्रमा लेकाली सल्ला, अमेरिकन सल्ला, रानी चाँप, दाँते ओखर, सतुवा लगायतका बिरुवा रोपिएको ओझाले जानकारी दिनुभयो । महासंघमार्फत निजी तथा सामुदायिक वन क्षेत्रमा करिव ४० हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । त्यस्तै हिमाली संरक्षण मञ्चले चार हेक्टर क्षेत्रफल बराबरमा वृक्षरोपण गरेको जनाएको छ । मञ्चकी कर्मचारी दुर्गामाया केदेमका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको सायपत्री सामुदायिक वनमा तीन हजार ७०० बिरुवा रोपिएको छ ।
यसैगरी फुङ्लिङ नगरपालिका–११ फावाखोलाको पाथीभरा सिम्बु सामुदायिक वन क्षेत्रमा तीन हजार २०० बिरुवा रोपेको केदेमले जानकारी दिनुभयो । उक्त क्षेत्रमा गुराँस र लौठ सल्ला प्रजातिको बिरुवा रोपेको मञ्चले जनाएको छ । यता कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले भने विश्व वातावरण दिवसको अवसरमा संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न ठाउँमा वृक्षरोपण गरेको जनाएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश तिवारीका अनुसार संरक्षण क्षेत्रमा दर्ता भएका २५ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत वृक्षरोपण गरिएको हो । ताप्लेजुङको कुल तीन लाख ६४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये एक लाख ५० हजार १५९ हेक्टर अर्थात ४१.१८ प्रतिशत भू–भाग वनजङ्गलले ओगेटेको तथ्याङ्क रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts