| | |

ताप्लेजुङका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २५ ।
ताप्लेजुङका दुर्गम तथा हिमाली गाउँसहित सबै स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना सङ्क्रमण गाउँ–गाउँमा फैलिँदै गएको अवस्थामा हिमालयन डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलिया लगायतका संस्थाले स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो ।
जिल्लाको नौ वटै स्थानीय तह र दुर्गम हिमाली गाउँहरु ओलाङ्चुङगोला, घुन्सा र पापुङलाई उक्त स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ । हिमालयन डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलिया (एचडीएफए) का नेपाल प्रतिनिधि मिङ्माडण्डु शेर्पाका अनुसार प्रयाप्त स्वास्थ्य पहुँच नभएको दुर्गम तथा विकट क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङका लागि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

यस्तै दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सालाई अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री उपलब्ध गराएको शेर्पाले बताउनुभयो । दुर्गम गाउँहरु ओलाङ्चुङगोला र पापुङका लागि स्थानीय स्वास्थ्य चौकीमार्फत प्रयोग गर्नेगरी अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ उक्त दुईवटा गाउँ र घुन्सा समेतलाई भिटामिन–‘सी’, भिटामिन–‘डी’, जिङ्क लगायत विभिन्न एन्टिबायोटिक औषघि उपलब्ध गराएको शेर्पाले जानकारी दिनुभयो ।
यस्तै सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका र आठ वटा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका प्रतिनिधि शेर्पाले बताउनुभयो । जिल्लाको मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । बाँकी स्थानीय तहलाई भने अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री मात्र उपलब्ध गराइएको शेर्पाले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १० हजार थान सर्जिकल मास्क, सेनिटाइजर २५० लिटर, ह्यान्ड सेनिटाइजर १०० एमएलको ५०० थान, टप ग्लोब्स (पञ्जा) ५० बट्टा रहेका छन् । त्यस्तै पीपीई सेट स्पेशल ५० थान, थर्मलगन ४५ थान, अक्सिमिटर ४५ थान, फेस सिल २०० थान, एन–९५ मास्क ५०० थान र अन्य भिटामिन, एन्टिबायोटिक औषधि रहेका छन् । हिमालयन डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलियाको सहयोगमा प्राप्त उक्त स्वास्थ्य सामग्री सबै स्थानीय तहललाई समान रुपमा वितरण गरिएको संस्थाका प्रतिनिधि शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थालाई वितरण गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये चार थान हिमालयन डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलिया र बाँकी छ थान डाँफे फाउन्डेसन युएसए र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ) को सहयोग तथा हाल काठमाडौंमा बस्दै आउनुभएका ओलाङ्चुङगोला निवासी दावाशम्बु शेर्पाको समन्वयमा प्राप्त भएको पनि एचडीएफएका नेपाल प्रतिनिधि शेर्पाले जानकारी दिनुभयो ।
दोस्रो चरणमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेका शेर्पाको भनाइ छ । यता कोभिड–१९ महामारीको समयमा विभिन्न स्वास्थ्य सामग्री पाएकोमा स्थानीय तहहरुले राहतको महशुस गरेका छन् भने स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सहयोगी संस्थाहरुप्रति आभार प्रकट गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts