|

कोरोना सङ्क्रमणले फुङ्लिङमा एक वृद्धको निधन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २२ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१ सेगुम्बाका ७५ वर्षीय वृद्धको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार राती करिव ११ बजेतिर मृत्यु भएको हो ।
आफन्तका अनुसार वृद्धलाई शुक्रबार बिहान मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो । फुङ्लिङ नगरपालिका–१ का वडाध्यक्ष पदमबहादुर सुनुवारका अनुसार उपचारकै क्रममा वृद्धको राती निधन भएपछि गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
मृत्युपछि कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले धरानदेखि नै वृद्धको शव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गाउँ ल्याइएको र पीपीई प्रयोग लगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएरै शनिबार दिउँसो तमोर नदीको दगुर्ने घाटमा अन्त्येष्टि गरिएको पनि वडाध्यक्ष सुनुवारले बताउनुभयो । उहाँका अनुसार शव लिएर आउने साथै अन्त्येष्टिमा संलग्न रहेका छोरा, नाति र अन्य आफन्तलाई कम्तिमा एक सातासम्म होम क्वारेन्टाइन (घरको एकान्त बास) मा बस्न सल्लाह दिइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts