अक्सिजनको दीर्घकालिन अभाव टार्न ताप्लेजुङमै व्यवसायिक अक्सिजन प्लान्ट स्थापनाको बहस सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,४ जेठ । ताप्लेजुङमै व्यवसायिक रुपले अक्सिजन प्लान्ट स्थापनाको बहस सुरु भएको छ । अक्सिजनको अभाव टार्न र यहिँबाट व्यवसायिक उत्पादन थाल्ने बिषयले अहिले स्थान पाउन थालेको हो । इञ्जिनियर वीरेन्द्र श्रेष्ठले जलबिद्युत परियोजनाको प्रशस्त सम्भावना भएको र अक्सिजन प्लान्ट स्थापनाका बजेट व्यवस्थापन पनि त्यति असहज नहुने भएकोले यसलाइ प्रकृयामा लैजान प्रस्ताव गर्नु भएको छ । जलबिद्युत परियोजनामा लामो समय देखि काम गर्दै आउनु भएका श्रेष्ठले अक्सिजन प्लान्ट स्थापनाका लागि यहाँका सबै स्थानीय तहका प्रमुखहरुसंग प्रस्ताव गर्न थालेको बताउनु भएको छ । आफुले फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल,सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलासंग प्रस्ताव गरेको श्रेष्ठले जानकारी दिनुभयो । सबै स्थानीय तहसंग यसका बारेमा प्रस्ताव गर्ने बताउँदै श्रेष्ठले भन्नुभयो‘ताप्लेजुङका स्थानीय तहले सामुहिक रुपमा प्लान्ट स्थापनाको अपनत्व लिने गरी योजना बनाउने हो भने यो ठूलो कुरै छैन’ । उहाँले ७०–८० लाख रुपैंया सम्ममा यहिँ अक्सिजन प्लान्ट स्थापना गर्न सकिने आफुले जानकारी पाएको बताउनुभयो । जटिल कोरोना संक्रमित बिरामीका लागि अक्सिजनको अभाव भइरहेको खबर समेत आउने र यस्ता महामारी भबिष्यमा अरु पनि आउन सक्ने अवस्थालाइ समेत दृष्टीगत गर्दै अक्सिजन प्लान्ट स्थापनाको पहलकदमी दिन सके ताप्लेजुङ सहितका पहाडी जिल्लाहरुमा लाभ पुग्न सक्ने श्रेष्ठले बताउनुभयो । यदि त्यो अवस्था आए प्लान्ट स्थापना तथा व्यवस्थापनका लागि आफ्नो जलबिद्युत कम्पनीमा कार्यरत इञ्जििनयर सहितका जनशक्ति परिचालन गर्न आफु तयार रहेको उहाँले जानकारी दिनुभयो । श्रेष्ठको आफ्नै अगुवाइमा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा युनिटेक हाइड्रोपावर कम्पनी प्रालिद्धारा प्रर्वद्धित ५.८ मेगावाटको माथिल्लो फावाखाला जलविद्युत परियोजना सञ्चालनमा रहेको छ । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामा अक्सिजन प्लान्ट अक्सिजनको अभाव टार्ने दीर्घकालिन उपाय भएको बताउनुहुन्छ । अहिले अक्सिजनको अत्यधिक माग भइरहेका बेला अक्सिजन प्लान्टको बिषय उठेपनि प्लान्ट स्थापना गर्न सके व्यवसायिक उत्पादन थालिने र आर्थिक आम्दानीको स्रोत समेत बन्ने लामाको भनाइ छ । कोरोेना महामारीका बेला ताप्लेजुङका उद्योगी,व्यवसायी सहितका दाता,जनप्रतिनिधि र स्थानीय सरकारको पहलमा अक्सिजनको अभाव पूर्तिको प्रयास भइहेको भन्दै लामाले प्लान्ट स्थापना गर्न सके अक्सिजनको दीर्घकालिन समाधान दिन सकिने बताउनुभयो । ईञ्जिनियर श्रेष्ठले ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा निमार्णाधिन र प्रकृयामा रहेका जलबिद्युत परियोजनाको संख्या धेरै रहेकोले महामारी बाहेक अरु बेला उत्पादित अक्सिजन ति परियोजनामा प्रयोग गर्न सकिने बताउनुभयो । ताप्लेजुङमै अक्सिजन प्लान्ट स्थापना हुन सके त्यसको खपत छिमेकी जिल्ला पाँचथर,तेह्रथुम र संखुवासभा सम्म हुन सक्ने ईञ्जिनयर श्रेष्ठको आङ्कलन छ ।
हामीलाई किन आवश्यक छ अक्सिजन ?
प्राण वायुका रुपमा रहेको अक्सिजन जैविक प्राणीलाई नभई नहुने एक महत्वपूर्ण ग्यास हो । श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका यसैको हुन्छ । विज्ञहरुका अनुसार शरीरका कोषहरुको सञ्चालनका लागि अक्सिजन नभई नहुने चिज हो । शरीरको सामान्य कार्य सञ्चालनका लागि यो महत्वपूर्ण छ । अक्सिजन अभावमा शरीरका कोषिकाहरुले काम गर्न छाड्ने र मर्ने गर्छन् । अर्थात् शरीरका हरेक अंग र भागहरुलाई काम गर्नका लागि अक्सिजन चाहिन्छ । अक्सिजन अभावमा शरीरले काम गर्न छाड्छ । हेल्थ जर्नलमा उल्लेख भए अनुसार कोरोना संक्रमितहरुको रगतमा अक्सिजनको मात्रा धेरैले घट्ने गरेको छ । कोरोना संक्रमण भएपछि भाइरसले फोक्सोमा आक्रमण गर्छ । फोक्सोको इन्फेक्सन भएपछि कोरोनाले निमोनिया गराउँछ । निमोनिया अर्थात् फोक्सोको इन्फेक्सन भयो भने फोक्सोले जसरी काम गर्नुपर्ने त्यसरी गर्न सक्दैन । त्यसका लागि अक्सिजनको प्रवाह पनि कमी हुन्छ । त्यसैले बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पर्छ ।
अक्सिजन प्लान्ट भनेको के हो ?
अक्सिजन प्लान्ट पनि एक प्रकारको कन्सन्ट्रेटर जस्तै हो । यसले पनि वातावरणमा भएको हावाबाट नै अक्सिजन निकाल्ने गर्छ । यसबाट तरल र ग्यास अवस्थाको दुवै अक्सिजन निकाल्न सकिने डा.भुसालले बताए । वातावरणमा लिएको हावाबाट नाइट्रोजनलाई छुट्टाउने,त्यसपछि अनि अन्य ग्यासहरुलाई हटाएर शुद्ध अक्सिजनलाई कम्प्रेस गरेर अक्सिजन उत्पादन गरिन्छ । कम्प्रेस गरिएको अक्सिजनलाई सिलिन्डरमा भरिन्छ । यसको शुद्धता ९९ प्रतिशत सम्म हुने विज्ञले बताएका छन् ।
अक्सिजन कन्सन्ट्रेटर भनेको के हो ?
अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने बताइन्छ । यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ । यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ । विज्ञका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts