ओली र दाहाललाई संयुक्त प्रस्तावमा मनाउन पहल
काठमाडौ,मंसिर ६ । सत्तारूढ नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मिलेर नै आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्ने लबिइङ सुरु भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोपको ‘काउन्टर प्रस्ताव’ पेस गर्ने स्थिति आए त्यही बिन्दुबाट पार्टी फुट्ने जोखिम रहेको बताउँदै दाहाललाई प्रस्ताव फिर्ता लिन लगाउने र ओलीलाई पनि एकल प्रस्ताव पेस गर्नबाट रोक्ने कोसिस नेताहरूले थालेका छन् । दाहालले आफूमाथि आरोप लगाउँदै यसअघि पेस गरेको १९ पृष्ठ लामो प्रस्तावको एकएक जवाफ आउँदो सचिवालय बैठकमा दिने भन्दै ओली बालुवाटारमा दस्ताबेजको तयारीमा छन् । उनले दाहालविरुद्ध अर्को प्रस्ताव ल्याए त्यसमा झन् आक्रामक आरोप लाग्न सक्ने र त्यसले पार्टीलाई फुटमा लैजाने दोस्रो तहका नेताहरूको विश्लेषण छ । त्यसैले दोस्रो तहका नेताहरूसँग योबीचमा व्यक्तिगत छलफल गरिरहेका महासचिव विष्णु पौडेलले शुक्रबार अध्यक्ष दाहालसँग पार्टी कार्यालय धुम्बाराहीमा संयुक्त दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव राख्नु भएको छ । ‘छुट्टाछुट्टै प्रस्ताव जाने कुराले पार्टीलाई सहमतिमा पु¥याउँदैन,’ प्रधानमन्त्री ओलीसँग समेत नियमित छलफल गरिरहनु भएका महासचिव पौडेलले अध्यक्ष दाहालसँग भन्नु भएको थियो । अध्यक्ष दाहालले आउँदो बैठकका लागि प्रस्तावको तयारी गर्न थाल्नु भएका प्रधानमन्त्री ओलीको मनस्थिति बुझ्न र सम्भावित कदमबारे परामर्श गर्न शुक्रबार महासचिव पौडेल र ओलीनिकट स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छुट्टाछुट्टै धुम्बाराही बोलाउनु भएको थियो । त्यही क्रममा महासचिव पौडेलले पार्टीभित्र सहमतिका साथ अघि बढ्न तत्कालका लागि दाहालको प्रस्ताव थाती राखेर दुवै अध्यक्षको संयुक्त प्रस्ताव पेस गर्ने वातावरण बने पार्टी एकता जोगिने धारणा राखेको पौडेलनिकट स्रोतले बतायो । ‘सहमतिको वातावरण बनाउन अहिले समय छ । त्यसैले यो अवसरलाई सदुपयोग गरौं, यो अवसर गुम्यो भने स्थिति गाह्रो हुन्छ,’ पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो । महासचिव पौडेलले तल्लो तहसम्मका नेता र कार्यकर्ताको मनोविज्ञान पार्टी फुटको दिशामा नजाओस् भन्ने रहेकाले यसलाई बेवास्ता गरेर अघि नबढ्न दाहाललाई आग्रह गर्नु भएकोे थियो । उहाँले तल्लो तहको मनस्थिति नै मिलेर जाऔं भन्ने रहेका बेला माथिल्लो तहमा भएका समस्याका कारण विभाजनको स्थितिमा जान नहुने बताउनु भएको थियो । अध्यक्ष दाहालले भने आफू पनि एकताविरोधी नभएको उल्लेख गर्दै पार्टीभित्र उठेका कुरालाई छलफलबाटै टुंगोमा पु¥याउनुपर्ने धारणा राख्नु भएको थियो । दाहालले आफूले पेस गरिसकेको एकल प्रस्ताव फिर्ता लिने विषयमा केही बताउनु भएन । बरु उहाँले आइसकेका विषयलाई छलफलबाटै टुंगो लगाउँदा राम्रो हुने राय राख्नु भएको थियो । दाहालले सबै साथीहरूसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता भने शुक्रबार व्यक्त गर्नु भएको छ । उहाँले आफू एकताको डोरी चुँडाउने पक्षमा नरहेको उल्लेख गर्दै यसमा सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो । नेम्वाङले भने प्रधानमन्त्री ओलीले आफ्नो प्रस्तावको तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले एकल रूपमा ल्याएको प्रस्तावले माहोल बिगारेको धारणा राख्नु भएको थियो । पार्टी एकताकै लागि दुवै नेताहरू चिन्तित हो भने मिलेर प्रस्ताव ल्याउनुपर्ने उहाँले दाहालसँग बताउनु भएको थियो । नेकपाभित्र अहिलेको संकट टार्ने उपाय गत भदौ अन्तिम साताको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनसम्बन्धी भएकाले त्यसमा केन्द्रित भएर जानुपर्नेमा नेम्वाङले जोड दिनु भएको थियो ।