कोरोना संक्रमणको दोस्रो लहर ः फ्रान्समा देशभर लकडाउन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १३ । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन लागु गरेको छ । यो लकडाउन पूरै नोभेम्बर महिनासम्म रहने बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारबाट लकडाउन लागु हुने जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छन् । रेष्टुरेन्ट्स, बार जस्ता व्यवसाय बन्द रहने छन् । फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युको आँकडा अप्रिल महिनापछि सबैभन्दा उच्चस्तरमा पुगेको छ । मंगलबार मात्रै ३३ हजार नयाँ संक्रमित फेला परेका थिए । राष्ट्रपति म्याक्रोले देशमा कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै यो पहिलेको भन्दा पनि खतरनाक हुनेमा कुनै शंका नरहेको बताए । धेरै युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । धेरै देशहरुले रात्रिकालीन कर्फ्युको सामना गरिरहेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोले महामारीलाई तुरुन्त रोक्नका लागि कठोर बन्नुपर्ने बताए । सम्बोधनको क्रममा म्याक्रोले फ्रान्सका अस्पतालका सबै आईसीयू बेड बिरामीले भरिएको जानकारी दिए । यसअघि मार्च महिनामा पनि फ्रान्समा लकडाउन गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts