तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला अन्तरगत फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २६ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवामा मंसिर २ गते देखि हुने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला अन्तरगत पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष तथा तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला मूल समितिका संयोजक विजय साँवा लिम्बूका अनुसार मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टिमले अपर मेवा जलविद्युत आयोजना काठमाडौंको टिमसंग पहिलोे क्वाटर फाइनल खेल खेल्ने छ ।

मंसिर ३ गते दुईवटा क्वाटर फाइनलका खेल हुने भएका छन् । दोस्रो दिनको पहिलो खेलमा पाँचथरको कुम्मायक गाउँपालिकाको टिमले मिक्वाखोला वडा नं २ खोक्लिङको खोक्लिङ सामाजिक युथ क्लवसंग दोस्रो क्वाटर फाइनल तथा तेह्रथुम फेदाप गाउँपालिकाको टिमले सैनिक युथ क्लव झापाको टिमसंग तेस्रो क्वाटर फाइनल खेल खेल्ने भएको छ । मंसिर ४ गते हुने चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा मेरिङदेन गाउँपालिकाको ग्रीनभ्याली युथ क्लवको टिमले मरिक एफसी धरानसंग भिड्ने छ । मंसिर ५ गते दुईवटा सेमीफाइनलका खेल हुनेछन् भने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलाको समापनको दिन मंसिर ६ गते फाइनल खेल हुने आयोजक समितिले जानकारी दिएको छ । पर्यटन तथा साँस्कृतिक मेला आयोजक समितिले अघिल्लो बर्ष झैं यसबर्षपनि पुरुष फुटबल प्रतियोगिताका बिजेतालाई नगदको सट्टा अलैंची पुरस्कार दिने छ ।

अध्यक्ष साँवा लिम्बूका अनुसार पुरुष फुटबलतर्फ प्रथम हुनेलाई ३ लाख २ हजार ८३ रुपैयाँ र दोस्रो हुनेलाई १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप प्रदान गरिने छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित रहेको छ । फुटबलका बिधागततर्फ उत्कृष्ट हुनेले समेत नगदको सट्टा अलैंची नै पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । अलैंचीको प्रर्वद्धन र उत्पादनको उचित बजारीकरणमा सघाउनका लागि आयोजकले यस्तो जुक्ति निकालेको अध्यक्ष साँवाले जानकारी दिनुभयो । अथितिलाई समेत अलैंची नै उपहार प्रदान गर्नेगरी आयोजकले व्यवस्थापन गर्ने साँवाको भनाई रहेको छ । करिव तीनसय मिटर अग्लो चट्टानबाट खस्ने फुङ्फुङ्गे झरना बाह्रैकाल अटुट रुपले पानी बहने नेपालका कमैमध्येको एक प्राकृतिक सौन्दर्य बोकेको क्षेत्र हो ।

Similar Posts