फक्ताङलुङले मंसिर ४ बाट प्राथमिक हिमाल चढाई तथा हिमालय उद्धार शिक्षा सम्वन्धी तालिम सञ्चालन गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्राथमिक हिमाल चढाई तथा प्राथमिक हिमालय उद्धार शिक्षा सम्वन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार आउँदो मंसिर ४ गते देखि १७ गते सम्म सञ्चालन हुने उक्त तालिममा ६ जनालाई सहभागी गराइने भएको छ । उक्त तालिम लिन इच्छुक गाउँपालिका भित्रका व्यक्तिहरुले यही कात्तिक ३० गतेसम्ममा नेपाली नागरिकताको प्रतिलिपिका साथ आबेदन दिईसक्नुपर्ने पालिकाले जनाएको छ ।
तालिम फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ स्थित घुन्सामा सञ्चालन हुने भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूनडिपी)को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना र फक्ताङलुङ गाउँपालिकाको समन्वय तथा आर्थिक लगानीमा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघ(एनएनएमजिए)को प्राविधिक सहयोगमा तालिम सञ्चालन हुन लागेको समेत पालिकाले जानकारी दिएको छ ।