विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर रुईतको उपस्थितिमा मंसिर ५ देखि ताप्लेजुङमा आँखा स्वास्थ्य शिविर हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १४ । आउँदो मंसिर ५ देखि ८ गतेसम्म ताप्लेजुङको फुङलिङमा शल्यकृयासहितको वृहत्त निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवनमा शिविर सञ्चालन हुन लागेको हो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोग तथा फुङलिङ नगरपालिका र सेवा फाउण्डेसनसहितका निकायको सहयोगमा आँखा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार शिविरमा डाक्टर रुईत,उहाँका छोरा सागरसहितका तीनजना नेत्र विशेषज्ञ र अन्य प्राविधिक कर्मचारी सहभागी हुने भएका छन् । ४ दिने निःशुल्क आँखा स्वास्थ्य शिविरका क्रममा मोतियाबिन्दु तथा अन्य आँखाका रोगीहरुको शल्यकृया सेवा प्रदान गरिने भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको अनुरोधमा तिलगंगा आँखा अस्पतालले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शल्यकृया कक्ष निर्माण गरिदिएको छ । शिविरकै अवसर पारेर उक्त शल्यकृया कक्षको उद्घाटन समेत गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार नेपाल नेत्रज्योति संघ ताप्लेजुङले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई आधारभूत आँखा अस्पतालको रुपमा स्तरोन्नती गर्ने तयारी गरिरहेको छ । आँखा उपचार केन्द्रलाई आधारभूत अस्पतालको रुपमा स्तरबृद्धि गर्ने र आधारभूत अस्पतालबाटै अब मासिक रुपमा आँखाको शल्यकृया सेवा प्रदान गर्नेगरी तयारी अघि बढाईएको र यसका लागि साझेदार निकायहरु छलफल समेत सुरु गरिएको अधिकारीले जानकारी दिनुभयो ।
ताप्लेजुङमा अहिलेसम्म आँखाको शल्यकृया सेवाका लागि देशका विभिन्न स्थानमा रहेका आँखा अस्पतालसंगको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले आँखा स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ । शिविरलाई यहाँका भौगोलिक हिसावले कठिन क्षेत्रमा केन्द्रित गरी सदरमुकाम फुङलिङबाट मासिक रुपमा शल्यकृयासहितको आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य अनुरुप योजना अघि बढाईएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीले बताउनुभयो । ताप्लेजुङको फुङलिङ र दोभान तथा पाँचथरको थर्पु र यासोकमा रहेका आँखा उपचार केन्द्रमार्फत नियमित रुपले शल्यकृया गर्नुपर्ने आँखाका रोगीको खोजी तथा पहिचान गरी प्रत्येक महिना सञ्चालन हुने शल्यकृयासहितको आँखा उपचार सेवाका क्रममा केन्द्रित गर्ने नेपाल नेत्रज्योति संघको योजना रहेको शाखाले जनाएको छ ।