पाथीभरा क्षेत्र विकास समितिमा अध्यक्षसहित ६ पद रिक्त,नियमित काममा असर छैन,महत्वपूर्ण निर्णय हुँदैन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । सरकारबाट नियुक्त हुने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्षसहित ७ मध्ये कार्यकारी निर्देशक बाहेक ६ जनाको पद रिक्त भएको छ ।
क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक प्रजिन हाङवाङसहित अब पदेन सदस्य मात्र रहनु भएको छ । क्षेत्र विकास समितिको अध्यक्ष पद गत चैत ६ गते देखि रिक्त छ । २०७८ साल चैत ६ गते पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त हुनु भएका रक्की थेबेको पदावधि २०८२ चैत ६ गते सकिएको हो ।‘सरकारले नियुक्त गर्ने अध्यक्ष,कार्यकारी निर्देशक र ५ जना सदस्य गरी ७ मध्ये अब मेरो मात्र पदावधि बाँकी छ’कार्यकारी निर्देशक हाङवाङले भन्नुभयो । अध्यक्ष,कार्यकारी निर्देशक र ५ जना सदस्यको कार्यकाल ४ बर्षको हुने प्रावधान रहेको छ ।
कार्यकारी निर्देशक हाङवाङको ४ बर्षे कार्यकालमध्ये यही कात्तिक २१ गते तीनबर्षे अवधि पूरा हुने छ । क्षेत्र विकास समितिमा सदस्यत्रय शम्भु गौतम,पृथ्वीमान पालुङ्वा र चेतराज घिमिरेको कार्यकाल गत भदौ २७ गते पूरा भएको हो । सदस्यद्धय तेजबहादुर भट्टराई खत्री र राजेन मादेनको पदावधि २०८१ साल पुस २ गते पूरा भएपनि अहिलेसम्म क्षेत्र विकास समितिमा अध्यक्षसहित ५ सदस्यको नियुक्ति हुन सकेको छैन । क्षेत्र विकास समितिमा जिल्ला समन्वय समिति प्रमुख,फुङलिङ नगरपालिकाका प्रमुख,पाथीभरा याङवरक गाउँपालिका,सिरिजङ्गा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष,प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख,डिभिजन वन कार्यालय,भूमि प्रशासन कार्यालय र नापी कार्यालयका प्रमुख पदेन सदस्य हुनुहुन्छ ।
समितिमा संशोधित प्रावधान अनुसार पदेन सदस्यको रुपमा कोशी प्रदेशको पर्यटन मन्त्रालयका प्रतिनिधि र प्रदेश पूर्वाधार कार्यालयको जिल्लास्थित प्रमुख पदेन सदस्य रहनु हुने छ । कार्यकारी निर्देशक समितिको सदस्य सचिवको रुपमा रहने प्रावधान रहेको छ । सुरुमा संघीय तथा प्रदेश सांसद समेत समितिको पदेन सदस्यको रुपमा रहने प्रावधान थियो । अध्यक्ष र सदस्यको अनुपस्थितिमा नियमित काम कारवाही र दैनिक प्रशासनिक कार्य सञ्चालनमा खास असर नभएपनि अभिभावकीय पद रिक्त हुँदा महत्वपूर्ण निर्णय र कार्य सम्पादनलाई उच्च गति दिन कठिनाई महशुष भइरहेको कार्यकारी निर्देशक हाङवाङले बताउनुभयो ।
सुरुमा संघीय सरकार मातहत रहेको क्षेत्र विकास समिति अहिले कोशी सरकार मातहत रहने भनिएको छ । प्रदेश सरकार मातहत रहने प्रावधान अनुसार समितिमा कोशी सरकारको प्रतिनिधिको रुपमा मन्त्रालयका प्रतिनिधि नै पदेन सदस्यको रुपमा रहनु भएको छ । तर,अध्यक्ष र सहित ५ सदस्य पद रिक्त भएको लामो समयसम्म पनि कोशी सरकारले पाथीभरा क्षेत्र विकास समितिमा नेतृत्व नियुक्त गरेको छैन ।
फोटो : पदावधि सकिएका अध्यक्ष र सदस्यलाई बिदाई गरिदैं ।