नवनिर्मित भवनको उद्घाटनसहित तमोर कृषि संस्थाको बार्षिक साधारणसभा सम्पन्न,खुद आम्दानी २० लाख बढी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २९ । ताप्लेजुङको फुङलिङस्थित तमोर महिला कृषि सहकारी संस्थाले संस्थाका लागि आफ्नै भवन निर्माण गरी बिहीबार उद्घाटनसंगै आफ्नै भवनमा १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाले आर्थिक बर्ष २०८२।८३ मा २० लाख ४ हजार २६० रुपैयाँ खुद बचत समेत गरेको जनाएको छ । संस्थाका अध्यक्ष नेताकुमारी सिवाका अनुसार आव २०८२।८३ मा ५२ लाख ७४ हजार ३६८ रुपैयाँ आम्दानी भई ३० लाख ४७ हजार ४११ रुपैयाँ सञ्चालन खर्च कटाएर २० लाख बढी रकम खुद आम्दानी भएको हो । संस्थाका कोषाध्यक्ष इन्दिरा घिमिरेका अनुसार संस्थाले आव २०८२।८३ मा ६ करोड ५३ लाख ९२ हजार ६६७ रुपैयाँ बराबरको कारोवार गरेको छ । उक्त आवको अन्त्यसम्ममा संस्थाको बचत रकम २ करोड ४४ लाख ९० हजार १८८ रुपैयाँ रहेकोमा ७१ लाख ४६ हजार १ सय रुपैयाँ चुक्ता शेयर रहेको र ३ करोड ७१ लाख ९८ हजार १८ रुपैयाँ ऋण लगानीमा रहेको संस्थाले बार्षिक साधारणसभामार्फत प्रगति विवरण प्रस्तुत गरेको छ ।
संस्थाका अध्यक्ष सिवाका अनुसार २०६७ साल असार २२ गते तमोर महिला कृषि सहकारी संस्था तत्कालिन जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा रहेको छ । सहकारी संस्थामा अहिले ६ सय ११ जना शेयर सदस्य रहेका छन् । संस्थामा हालसम्मको औषत प्रति शेयर सदस्य ११ हजार ६९५ रुपैयाँ र बचत ४० हजार ८१६ रुपैयाँ रहेको संस्थाले जनाएको छ । संस्थाले ७३ लाख ९६ हजार ८५५ रुपैयाँ लगानीमा फुङलिङ नगरपालिका वडा नं ४ स्थित हुलाक लाइनमा संस्थाको आफ्नै भवन निर्माण गरी त्यहीबाट सेवा सुचारु गर्ने भएको छ । भवन निर्माण कार्य पूरा भएपनि कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरसहितको व्यवस्थापनको कार्य जारी रहेकोले संस्थाले केहिदिन भित्रै आफ्नै भवनबाट दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जनाएको छ ।
संस्थाका अध्यक्ष सिवाका अनुसार फुङलिङ नगरपालिका,संस्था आफ्नै र कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा मातहतका कार्यालयको आर्थिक सहयोगमा भवन निर्माण कार्य पूरा भएको हो । सिवाका अनुसार २०७६ साल जेठ १४ गते शिलान्यास भई भवन निर्माण कार्य सुरु भएको थियो । भवन निर्माणका लागि फुङलिङ नगरप्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाको बिशेष पहलमा नगरपालिकाबाट दुईपटक गरी १४ लाख,फुङलिङ नगरपालिकाका संस्थापक नगरप्रमुख छत्रपति प्याकुरेलको बिशेष पहलमा पटक–पटक गरी नगरपालिकाबाट २७ लाख रुपैयाँ,कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा मातहतका कार्यालयमार्फत २० लाख र सहकारी संस्थाको १२ लाख ९६ हजार ८५५ रुपैयाँको लागतमा भवन निर्माण कार्य पूरा भएको हो ।
बार्षिक साधारणसभामार्फत भवन निर्माणमा सहयोग गर्ने नगरप्रमुख मादेन,तत्कालिन नगरप्रमुख प्याकुरेल र पूर्वाधार विकास कार्यालय ताप्लेजुङका प्रतिनिधिसंगै संस्था स्थापनामा महत्वपूर्ण भूमिका प्रदान गर्ने फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङलाई समेत सम्मान गरेको छ । संस्थाले २०७० सालमा संस्थालाई फुनपा वडा नं २ स्थित सशस्त्र प्रहरी वल नेपाल कञ्चनजंघा गुल्म नजिक ४ आना जग्गा दान गर्नुहुने संस्थाका तत्कालिन अध्यक्ष मनमाया राई तुम्बाहाम्फे र अहिले भवन निर्माण भएको क्षेत्रमा जग्गादान गर्नुहुने माकचिरी तुम्बाहाम्फे र हरिमाया तुम्बाहाम्फे तथा फुनपा वडा नं ४ जन्मघर भई हाल बेलायत निवासी नवीन सिवा र बिमला(निलिमा)सिवाप्रति साधारणसभामार्फत उच्च प्रशंसा व्यक्त गरेको छ । नवीन र बिमला सिवा परिवारकोतर्फबाट बुधबारमात्रै संस्थालाई १ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान भएको संस्थाका उपाध्यक्ष तथा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो ।