ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई इजाजत पत्र लिन तथा नविकरणका लागि १५ दिनको समयसीमा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २७ । स्वास्थ्य कार्यालय ताप्लेजुङले निजी स्वास्थ्य संस्थाहरुलाई इजाजतपत्र लिन तथा नविकरण गर्नका लागि १५ दिन भित्रमा कार्यालयमा आबेदन दिन समयसीमा दिएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख अनिल श्रेष्ठका अनुसार इजाजत पत्र नविकरण तथा सिफारिसका लागि असोज २७ गतेका मितिले १५ दिन भित्रमा स्वास्थ्य कार्यालयमा आवश्यक कागजातसहित रीतपूर्वकको निबेदन पेश गर्नुपर्ने हुन्छ । स्वास्थ्य कार्यालयले इजाजत पत्र नलिई वा इजाजत पत्र नविकरण नगराई स्वास्थ्य संस्था सञ्चालन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही तथा दण्ड र जरीवाना हुने समेत बताएको छ ।
स्वास्थ्य कार्यालयले ताप्लेजुङका निजी स्वास्थ्य संस्थाहरुलाई जनस्वास्थ्य ऐन २०७५ अनुसार जारी भएको जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम(२)संग सम्वन्धित कानुनी प्रावधानहरुको स्मरण समेत गराएको छ । उक्त नियमावलीको अनुसूची ९ को बुँदा नं २ मा निजी स्वास्थ्य संस्थमाहरुले प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट सञ्चालन इजाजत लिनुपर्ने तथा नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सो प्रावधान अनुसार २५ देखि २ सय शैयासम्मका जनरल तथा विशेषज्ञ अस्पतालको नविकरण तथा इजाजत सिफारिस सम्वन्धी बिषयको अनुगमन तथा नियमन सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयले गर्ने,डेन्टल क्लिनिक,विशेषज्ञ क्लिनिक र पोलि क्लिनिक र पुर्नस्थापना केन्द्रको इजाजत,नविकरण,अनुगमन तथा नियमन सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयले गर्ने छ ।