आठराई त्रिबेणीले लेखा कर्मचारीदेखि बिद्यालय कर्मचारीसम्मलाई मासिक ५ हजार रुपैयाँ थप गरी तलव दिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका बिद्यालयका लेखा कर्मचारी,वाल तथा भाषा शिक्षक र बिद्यालय कर्मचारी प्रत्येकलाई पालिकाकोतर्फबाट ५–५ हजार रुपैयाँ थप गरी तलवभत्ता निकासा गर्ने भएको छ ।

संघीय अनुदानबाट प्राप्त हुने रकममा बिद्यालयको लेखा शाखाका कर्मचारी,बाल शिक्षक,भाषा शिक्षक र बिद्यालय कर्मचारीलाई पालिकाकोतर्फबाट जनही ५ हजार रुपैयाँ थप गरी निकासा गर्ने गाउँपालिका शिक्षा समितिका अध्यक्ष एवम् पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो । पालिका अध्यक्ष पोमूको स्वकीय सचिवालय संयोजक लेखनाथ भट्टराईका अनुसार पालिका भरीका ३३ वटा बिद्यालय रहेका छन् । पालिकाभरीका सबै बिद्यालयमा कार्यरत लेखा कर्मचारी,बाल शिक्षक,भाषा शिक्षक र बिद्यालय कर्मचारी(सहयोगी)सबैले संघीय अनुदान रकमबाट प्राप्त हुने सेवा सुविधामा पालिकाकोतर्फबाट मासिक थप ५ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने पालिकाले जनाएको छ ।

पालिकाका अनुसार अब बिद्यालयको लेखा शाखाका कर्मचारीले मासिक जनही २५ हजार,बाल शिक्षक र भाषा शिक्षकले मासिक २२ हजार र बिद्यालय कर्मचारी(कार्यालय सहयोगी)ले मासिक २० हजार रुपैयाँ मासिक सेवा सुविधा पाउने पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । पालिकाले यसअघि देखि नै बिद्यालयका लेखा कर्मचारी,बाल शिक्षक,भाषा शिक्षक र बिद्यालय कर्मचारीलाई संघीय अनुदानबाट प्राप्त हुने रकममा पालिकाकोतर्फबाट थप गरी प्रोत्साहनसहितको मासिक सुविधा उपलब्ध गराउँदै आएको थियो ।

संघीय सरकारले पनि बिद्यालयका लेखा कर्मचारी,बाल शिक्षक,भाषा शिक्षक र बिद्यालय कर्मचारीको सेवा सुविधामा बृद्धि गरेपछि पालिकाले पनि विगतमाझैं जनही ५ हजार रुपैयाँ थप गरी निकासा गर्ने पालिकाले जनाएको छ । आठराई त्रिबेणीले पालिकाभरीका सबै बिद्यालयलाई मसलन्द तथा प्रशासनिक खर्च उपलब्ध गराउँदै आएको छ भने बिद्यालयको परीक्षा गराउँदा लाग्ने शुल्क,बिद्यालयको लेखा परीक्षण शुल्क समेत पालिका आफैंले व्यहोर्दै आएको छ । आठराई त्रिबेणीमा कक्षा १२ को अध्ययन निःशुल्क रहेको छ ।

Similar Posts