ताप्लेजुङको हिमाली बस्ति फलेमा फल्यो लटरम्म स्याउ,व्यवसायिक खेतिको बलियो सम्भावना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ति फले र घुन्सामा स्याउको व्यवसायिक खेति गर्न सकिने देखिएको छ ।

स्याउमा हुनुपर्ने स्वाद,दाना र चिनीको मात्रामा गुणस्तरीयता परीक्षण समेत सफल हुनु र परीक्षण उत्पादनले सम्भावना देखाउनुले स्याउको व्यवसायिक खेति गर्न सकिने बलियो आधार प्राप्त भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)बताउनुभयो । स्थानीय किसान र बिभिन्न संस्थाहरुले परीक्षणका लागि रोपेका स्याउका बोटले गुणस्तरीय फल दिँदा स्थानीयमा उत्साह बढेको पालिका अध्यक्ष लिम्बूको भनाई छ । स्थानीय नामग्याल शेर्पाले फलेमा फुजी,गाला र गोल्डेन डेलिसियस प्रजातिका स्याउको उत्पादन परीक्षणले व्यवसायिक खेतिको बलियो सम्भावना देखाएको जानकारी दिनुभयो । फले समुद्र सतहबाट करिव ३ हजार २ सय ३२ मिटरको उचाईमा रहेको बस्ति हो । घुन्सा भने समुद्र सतहबाट ३ हजार ४ सय ७५ मिटर उचाईमा रहेको छ ।

फले र घुन्सा कञ्चनजंघा पदमार्गमा पर्ने बस्ति हुन् । यो मार्ग हुँदै बर्षेनि ठूलो संख्यामा बिदेशी पर्यटक विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको आरोहण तथा भ्रमणका लागि जाने गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक समेत कञ्चनजंघा आधार शिविरसम्मको भ्रमणका लागि जाने गरेका छन् भने हिमाल आरोहणको प्रारम्भिक तालिम समेत यसै क्षेत्रमा हुने गरेको छ । घुन्सा र फलेमा इटालीबाट ल्याइएका ‘फुजी’,गाला र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा परीक्षणका लागि रोपिएको थियो । पुतली सहयोग परियोजना,स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुई–दुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको पुतली सहयोग परियोजनाले जनाएको छ ।

परीक्षणका लागि रोपिएका बिरुवाले गुणस्तरीय स्याउको उत्पादन दिन थालेपछि यहाँका हिमाली बस्तिमा स्याउको व्यवसायिक खेति गर्न सक्ने सम्भावना देखाएको छ । पालिका अध्यक्ष लिम्बू परीक्षण उत्पादनमै गुणस्तरीयता र उत्पादनमा समेत बलियो सम्भावना देखेपछि अब पालिकाले यसक्षेत्रमा स्याउको व्यवसायिक खेतिलाई मुख्य माध्यम बनाउने बताउँनुहुन्छ । पालिकाले पालिका क्षेत्रको कृषिजन्य उत्पादनलाई बिचौलियाको प्रभावबाट टाढै राखी सिधै बजार केन्द्रित गर्न कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याई सकेको छ । व्यवसायिक उत्पादनमा जोड दिने र उत्पादित कृषिजन्य बस्तुको बजारीकरण सुनिश्चित गरी आत्मनिर्भरताबाट व्यवसायमुखी कृषि प्रणालीमा किसानलाई आवद्ध गर्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

 

Similar Posts