ताप्लेजुङको मैवाखोलाले सुरु गर्यो मनोसामाजिक परार्मश सेवा,सेवा पूर्ण रुपले निःशुल्क र सुरक्षित हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले निःशुल्क रुपमा मनोसामाजिक परार्मश सेवा उपलब्ध गराउने कार्य सुरु गरेको छ ।
मनोसामाजिक परार्मशदाता सन्नीकुमार दासले मनोसामाजिक परार्मश उपलब्ध गराउने मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले जानकारी दिनुभयो । मानसिक वा भावनात्मक तनाव तथा चिन्ता,पारिवारिक वा सामाजिक समस्या,हिंसा वा दुव्र्यवहार र बालबालिका तथा किशोर किशोरी सम्वन्धी कुनै समस्या भए मनोसामाजिक परार्मशदाताले सेवा लिन सक्ने पालिकाले जनाएको छ । समस्या तथा सूचनालाई पूर्ण रुपमा गोप्य राखी आवश्यक परार्मश तथा सहयोग प्रदान गर्ने पालिकाले जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर्पाका अनुसार सेवा पूर्ण रुपले निःशुल्क,गोपनियता सुनिश्चित,समयमै सहयोग र अनुभवी परार्मशदातामार्फत सेवा प्रदान हुने भएकोले परार्मश सेवाको आवश्यकता भएका नागरिकले निसंकोच हिसावले सेवा लिन सक्नेछन् । विज्ञका अनुसार व्यक्तिको व्यवहार समाजले चाहे अनुसारको नभएमा ऊ समाजमा राम्ररी घुलमिल हुन नसकी मनोसामाजिक समस्यामा फस्न पुग्छ । जसले व्यक्तिको मन र समाजबीच तालमेल नमिलेर शारीरिक, मानसिक,भावनात्मक रूपमा व्यक्तिलाई प्रभाव पार्दछ । यसले गर्दा विभिन्न मनोसामाजिक समस्याहरू जस्तै तनाव हुने, निन्द्रा नलाग्ने, रिस उठ्नेजस्ता विभिन्न समस्या देखिने गरेको पाइन्छ ।
मनोसामाजिक समस्या बढ्दै जाँदा एन्जाइटी र डिप्रेसनको अवस्था निम्तिन सक्छ । यस्तो बेलामा व्यक्तिको मनोसामाजिक समस्याको समाधान गर्न व्यक्ति र मनोविमर्शकर्ताबीच हुने योजनाबद्ध कुराकानी र छलफल नै मनोविमर्श हो । सामाजिक परिवेशमा विभिन्न कारणबाट उत्पन्न हुने असहज परिस्थिति जस्तै विपत्को प्रभाव, मानव सृजित घटना, सशस्त्र द्वन्द्व, लैंगिक हिंसा, बेरोजगारी, आर्थिक समस्या वा अन्य कुनै कारणले असुरक्षित महसुस गरेका व्यक्तिहरूको मनोसामाजिक समस्या समाधान गर्न मनोविमर्श सेवा प्रभावकारी हुन्छ ।