|

ताप्लेजुङमा विभिन्न मुद्दाका फरार छ प्रतिवादी पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ५ । ताप्लेजुङमा विभिन्न मुद्दामा दोषी ठहर भएका र हालसम्म फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी, डाका, हातहतियार खरखजना लगायतका मुद्दामा दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विध्यालालकुमार साहका अनुसार पक्राउ पर्नेमा डाका मुद्दाका दोषी आठराई त्रिबेणी गाउँपालिकाका ओमन रसाइली कामी रहेका छन् । त्यस्तै डाका मुद्दामै दोषी ठहरिएका मेरिङ्देन गाउँपालिकाका फुर्वासांगे शेर्पा र पासाङ शेर्पा पनि पक्राउ परेका प्रहरी निरीक्षक साहलेजानकारी दिनुभयो ।
उहाँका अनुसार डाका मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको तीनैजनालाई एक वर्ष कैद सजाय र १० हजार रुपियाँका दरले जरिवाना तोकेको थियो । यस्तै अभद्र व्यवहारमा दोषी ठहरिएका मिक्वाखोला गाउँपालिकाका भक्तबहादुर शेर्पा र हातहतियार तथा खरखजना मुद्दाका दोषी आठराई त्रिबेणी गाउँपालिकाका पदमबहादुर आङ्बुहाङ लिम्बू पक्राउ परेका छन् ।
फरार भएको १४ वर्षपछि पक्राउ परेका शेर्पा र लिम्बूलाई जिल्ला अदालतले समान १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी चोरी मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका सांकेतिक नाम (के) र ठेगाना ०१–७–घ पनि पक्राउ परेका छन् । चोरी मुद्दाका दोषीउपर एक वर्ष कैद सजाय र १० हजार रुपियाँ जरिवाना हुने जिल्ला अदालतले फैसला सुनाएको थियो ।
खोजतलासकै क्रममा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यता पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयलमा उपस्थित गराएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो ।

Similar Posts