मैवाखोलामा आव २०८२।८३ मा ८ किमी बढी सडक सोलिङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२।८३ मा पालिका क्षेत्रमा ८ किलोमिटर बढी सडक सोलिङ भएको जनाएको छ ।

पालिकाले प्रकाशित गरेको बार्षिबक प्रगति विवरण पुस्तिकाका अनुसार उक्त आर्थिक बर्षमा अढाई किलोमिटर सडकको नयाँ ट्रयाक ओपन भएको छ । पालिका क्षेत्रमा ५ हजार मिटर भन्दा बढी सिचाँई पाइप जडान भएको छ भने ३ हजार ६ सय मिटर बढी खानेपानी पाइप समेत जडान भएको छ । पालिका क्षेत्रका विभिन्न स्थानमा ७ सय ५० घनमिटर भन्दा बढी ग्याविन वाल निर्माण भएको र दुईवटा खेल मैदानको निर्माण कार्य पूरा भएको समेत पालिकाले जनाएको छ । पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणधिन अवस्थामा रहेको,वडा नं ४ को अधुरो स्वास्थ्य संस्था भवन र वडा नं ३ को स्वास्थ्य संस्थाको भवन निर्माण कार्य समेत पूरा भएको पालिकाले जनाएको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार आव २०८२।८३ मा पालिकाका बहुउद्देश्यीय कर्भडहल निर्माण,प्राङ्गारिक मल उद्योग सेड निर्माण,५४ फिट अग्लो सिलाम साक्माःको स्थायी प्रतिमा निर्माणकार्य समेत पूरा भएका छन् । पालिकाले गुफा–झ्याउँपोखरी–गैरे–साँघु सडक स्तरोन्नती गर्ने कार्य समेत पूरा भएको जनाएको छ । हिमालय आधारभूत बिद्यालयको चारकोठे भवनको निर्माण कार्य समेत पूरा हुने चरणमा रहेको र पूर्वाधारतर्फ विभिन्न वडाका ५५ वटा योजना आव २०८२।८३ मा सम्पन्न भएका पालिकाले जानकारी दिएको छ ।

पालिकाले प्रकाशित गरेको विवरण अनुसार अनुगमन समितिबाट ३२ वटा योजना,१२ वटा टोल विकास संस्था अनुगमन भएभने पालिका स्तरीय अनुगमन समिति र वडा स्तरीय अनुगमन समितिबाट संयुक्त रुपमा १५ वटा योजनाको अनुगमन भएको छ । वडास्तरबाट ३१ वटा योजनाको अनुगमन भएको छ । योजनाको प्रभावकारिता मापनका लागि गरिने अनुगमनलाई प्रभावकारी बनाउन पालिकाले पालिका स्तरीय अनुगमन समितिबाट कहिले छुट्टै रुपले,कहिले पालिका र वडा स्तरीय अनुगमन समितिबाट संयुक्त रुपमा र वडास्तरीय अनुगमन समितिबाट छुट्टै रुपले समेत योजनाको अनुगमन गर्ने कार्य गर्दै आएको छ ।

Similar Posts