फक्ताङलुङद्धारा ‘नागरिकको अधिकार,नागरिककै घरदैलोमा’ अभियान सञ्चालन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ‘नागरिकको अधिकार,नागरिककै घरदैलोमा’अभियानलाई ब्यापक बनाउँदै लगेको जनाएको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जनमुखी स्थानीय सरकारको वास्तविक पहिचान दिनेगरी नागरिकका अधिकारलाई उनीहरुकै घरदैलोमा पु¥याउने अभियानलाई ब्यापक बनाईएको जानकारी दिनुभयो । पालिकाले अहिले जनताका घरदैलौबाटै सामाजिक सुरक्षा भत्ता नविकरणका लागि गरिने बायोमेट्रिकको विवरण अद्यावधिक कार्य गर्दै आएको जनाएको छ । बिरामी,अशक्त र वडा कार्यालयसम्म आउन नसक्ने नागरिकको बायोमेट्रिक विवरणको अद्यावधिक घर–घरबाटै गरिदैं आएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले अहिलेसम्म ७० प्रतिशत सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिकको विवरण अद्यावधिक गरिसकिएको जनाएको छ । बाँकी ३० प्रतिशत लाभग्राहीको बायोमेट्रिकको विवरण अद्यावधिक कार्य चाँडै सम्पन्न गर्नेगरि कार्य भइरहेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनु भएको छ ।

‘नागरिकको अधिकार,नागरिककै घरदैलोमा’अभियान अन्तरगत पालिकाले सम्वन्धित वडा कार्यालय र पालिकास्थित बैंकको समन्वयमा बिरामी,अशक्त र वडा कार्यालयसम्म आउन नसक्ने नागरिकको सामाजिक सुरक्षा भत्ता समेत घर–घरमै पुगेर बितरण गर्ने योजना कार्यान्वयन गर्दै आएको पालिकाले जनाएको छ । चालु आर्थिक बर्ष २०८३।८३४ मा समेत पालिकाले पालिकाको दुर्गम क्षेत्रका सेवाग्राहीलाई स्वास्थ्य सेवासहित घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने कार्यक्रम राखेको छ । बिरामी,अशक्त र वडा कार्यालयसम्म आउन नसक्ने नागरिक बाहेक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली(ईएफटी)मार्फत नियमित रुपमा बितरण हुँदै आएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष लिम्बूले ‘सेवा केवल कुर्सीबाट होईन,नागरिकका आँगनबाट दिनुपर्छ’भन्ने मान्यतालाई पालिकाले संस्थागत गरिसकेको बताउनुभयो । ‘सेवाका लागि अशक्त नागरिकले कठिन यात्रा गर्नुपर्ने नभई सरकार स्वयंले नागरिकको घरदैलोसम्म पुग्नुपर्छ’पालिका अध्यक्ष लिम्बूले भन्नुभएको छ ।

Similar Posts