कञ्चनजंघा र कञ्चन एकेडेमीले संकलन गरे क्रमशः१ लाख र ८४ हजार रुपैयाँ राहत रकम
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङको फुङलिङस्थित कञ्चनजंघा आवासीय मावि र कञ्चन एकेडेमीले रसुवा बाढी पीडितको सहयोगार्थ क्रमशः १ लाख र ८४ हजार रुपैयाँ संकलन गरेका छन् ।
संकलित रकम जिल्ला प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कञ्चनजंघा आवासीय माध्यमिक बिद्यालयका प्रशासन शाखा प्रमुख दिनेश भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले आफ्नो खाजा खर्च कटाएर ३२ हजार २५ रुपैयाँ संकलन गरेका छन् भने शिक्षकहरुकोतर्फबाट ३२ हजार ५ सय ५० रुपैयाँ संकलन भएको छ । बिद्यालयले सामाजिक उत्तर दायित्व अन्तरगत ३५ हजार ४ सय २५ रुपैयाँ थप गरी कञ्चनजंघा आवासीय माविबाट कुल १ लाख रुपैयाँ राहत कोषमा पठाइने भट्टराईले जानकारी दिनुभयो ।
कञ्चन एकेडेमी माध्यमिक बिद्यालयले ८४ हजार रुपैयाँ संकलन गरेको छ । भट्टराईका अनुसार बिद्यार्थीकोतर्फबाट ९ हजार ८ सय २५ रुपैयाँ र शिक्षकहरुकोतर्फबाट २४ हजार रुपैयाँ संकलन भएको छ । बिद्यालयले ५० हजार १ सय ७५ रुपैयाँ सामाजिक उत्तरदायित्व अभियान अन्तरगत थप गरी कुल ८४ हजार रुपैयाँ राहत कोषमा जम्मा गरिने भट्टराईले जानकारी दिनुभयो ।