झापा–११ बिरुद्ध सनसनीपूर्ण जीत निकाल्दै फिदिम स्पोर्टिङ क्लव ताप्लेजुङ गोल्डकपको फाइनलमा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । फिदिम स्पोर्टिङ क्लव पाँचथर झापा–११ बिरुद्ध सनसनीपूर्ण जीत निकाल्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनल पुग्ने दोस्रो टोली बनेको छ । यो जीतसंगै फिदिमले शुक्रवार हुने उपाधि भीडन्तमा सिराहाको सलहेस युवा क्लवसंगको भेट पक्का गरेको छ ।
बुधवार फुङलिङस्थित भानुजन माविमा सम्पन्न दोस्रो सेमीफाईनलमा फिदिम स्पोर्टिङ क्लवले झापा–११ लाई १–० ले पराजित गर्यो । टिमको जीतमा सुसन जवेगुले निर्णायक गोल गर्नुभयो । आरोन थापा मगर,देवेन्द्र तामाङ,आयुष घलान जस्ता स्टार खेलाडीले भरिएको झापा –११ बिरुद्ध सम्हालिएको खेल खेलेको फिदिम ताप्लेजुङ गोल्डकपमा पहिलो पटक फाइनल पुगेको हो । सलहेस मंगलवार भएको पहिलो सेमीफाइनलमा गोल्डकपको एकमात्र अन्तराष्ट्रिय टोली भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवलाई २–० पराजित गर्दै फाइनलमा पुगिसकेको छ । सलहेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको डिफेण्डिङ च्याम्पियन हो । गोल्डकपको दोस्रो संस्करणमा उपबिजेता बन्दै घर फर्किएको सलहेसले तेस्रो संस्करणमा उपाधि माथि कब्जा जमाएको थियो । वुधवारको खेलमा टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका फिदिमका मिराक खजुम म्यान अफ द म्याच बन्दै ७ हजार मूल्य बराबरको अलैंची पुरस्कार पाउन सफल हुनुभयो । ताप्लेजुङ देशभरमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित रहेको छ ।
अलैंचीको प्रर्वद्धनका लागि आफुले प्रत्येक खेलका म्यान अफ द म्याच हुनेलाई ७ हजार मूल्य बराबरको अलैंची नै पुरस्कार पाउनेगरी प्रायोजन गरेको मिक्वाखोला गाउँपालिका वडा नं ४ का विजय साँवा लिम्बूले जानकारी दिनुभयो । उहाँ संयोजक रहेको दोस्रो फङफङदेन झरना पर्यटन महोत्सवका बेला आयोजित फुटबल प्रतियोगितामा आयोजकले बिजेता र उपबिजेता देखि सर्बोत्कृष्ट र उत्कृष्ट हुने सबैलाई पुरस्कार रकम बराबरको अलैंचीनै प्रदान गर्नु भएको थियो । बिहीबार एकदिन खेललाई बिश्राम गराई भदौ १९ गते फाइनल खेल सञ्चालन हुने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले ७ लाख २ हजार ८३ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका सर्बोकृष्ट खेलाडीले बजाज कम्पनीको एकथान मोटरसाईकल पाउने छन् भने बिधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेलको अवलोकनका लागि टिकट काटेका दर्शकहरुको टिकटको अर्धकट्टीलाई एकै डालोमा लगाई फाइनलको दिन गोलप्रथाद्धारा छानिएका एक भाग्यशाली दर्शकले टिभिएस कम्पनीको एकथान स्कुटर समेत प्राप्त गर्नेछन् ।