वरिष्ठ लेखक तथा साहित्यकार थापा एक लाख ५१ हजार नगदसहित सम्मानित
-प्रयास लिम्बू
ताप्लेजुङ, भदौ १६ । ताप्लेजुङका वरिष्ठ साहित्यकार तथा लेखक राजेश्वर थापा एक लाख ५१ हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ । विभिन्न विधाका छ दर्जन बढी पुस्तकका लेखक थापालाई फुङ्लिङ नगरपालिकाले सम्मान गरेको हो ।
नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ साहित्यकार तथा लेखक थापालाई नगदसहित सम्मान गरेको हो । विभिन्न पुस्तक लेखन, प्रकाशन तथा साहित्य सिर्जना गरेर थापाले पु¥याउनुभएको योगदानको मूल्यांकन गर्दै उहाँलाई पुरस्कृत तथा सम्मान गरिएको फुङ्लिङ नगरपालिकाले जनाएको छ ।
सम्मानित थापालाई नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु लगायतले दोसल्ला ओढाउनुका साथै एक लाख ५१ हजार रुपियाँ पुरस्कार राशि र ताम्रपत्र वितरण गर्नुभएको थियो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नगरप्रमुख मादेन सहितका वक्ताले थापाले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
ताप्लेजुङको राजनीतिक इतिहास र व्यक्तित्व, पर्यटकीय र धार्मिक स्थल, जातीय अवस्था र संस्कार संकृतिसहित यथार्थ र वस्तुगत धरातलीय अवस्थासँग सम्बन्धित पुस्तक लेखन तथा प्रकाशन गरेर थापाले इतिहासलाई जीवित राख्नमा योगदान पु¥याउनुभएको चर्चा गरिएको छ । यस्तै विभिन्न विधाका सिर्जना लेखन तथा प्रकाशन गरेर साहित्य विकासमा पनि थापाले ठुलो योगदान गर्नुभएको छ ।
थापाका प्रकाशित कृतिहरुमा ताप्लेजुङको लोकसंस्कृति, ताप्लेजङका सहिदहरु, ताप्लेजुङका युद्धबीर लाहुरेहरु, ताप्लेजुङका वाम आन्दोलनका आधोपान्तजस्ता पुस्तकहरु छन् । यस्तै ताप्लेजुङका धार्मिक स्थलहरु, ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्त, ताप्लेजुङका नेवारहरु, तोक्पेगोला (ढोक्प्या) जातिको परिचयमाला, ताप्लेजुङका अग्रवाल लगायतका पुस्तक रहेका छन् ।
यसैगरी ताप्लेजुङका लिम्बूहरु, ताप्लेजुङका शेर्पाहरु, ताप्लेजुङमा समाजसेवाको इतिहासलगायत थापाका दर्जन बदी पुस्तकहरु प्रकाशोन्मुख अवस्थामा छन् । हाल ७५ वर्ष उमेर पुग्नुभएका वरिष्ठ साहित्यकार तथा लेखक थापाका कविता, गजल, निवन्ध लगायत विधाका थुप्रै फुटकर लेख तथा सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
यता लेखक थापाले आफूले लेखेकासहित करिव पाँच हजार पुस्तकहरु फुङ्लिङ नगरपालिकाको सहयोगमा सञ्चालित दीपज्योति पुस्तकालयलाई उपलब्ध गराउनुभएको छ । थापाको सम्मान कार्यक्रममा दीपज्योति पुस्तकालयका संस्थापक भरत गुरुङ, मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक, समाजसेवी तथा साहित्यकार चन्द्र मादेन (आन्छन) लगायतको सहभागिता रहेको थियो ।