| | |

रोपाइँ जात्रामा लिम्बू जातिको धान नाच आयोजना

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १५ । रोपाइँ जात्राको दिन आइतबार ताप्लेजुङमा लिम्बू जातिको धान नाच (याःलाङ) आयोजना गरिएको छ । लिम्बू समुदायको मौलिक संस्कृतिको धान नाच रोपाइँ जात्राको अवसरमा आयोजना गरिएको हो ।
याक्थुङ चुम्लुङ नेपाल ताप्लेजुङ शाखाले धान नाच आयोजना गरेको हो । आइतबार साँझ सदरमुकाम फुङ्लिङमा आयोजित धान नाच कार्यक्रममा कोशी प्रदेशसभा सदस्य पूर्वमन्त्री खगेनसिंह हाङ्गाम, प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री निर्मला तावा लिम्बू, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ लगायतका जनप्रतिनिधि सहभागी हुनुभएको थियो ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल लगायतका कार्यालय प्रमुख, लिम्बू समुदायका युवा युवती र अन्यको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैजना धान नाचमा सहभागी हुनुभएको चुम्लुङकी जिल्ला अध्यक्ष हाङमाया लेछर्बो लिम्बूले जानकारी दिनुभयो ।
लिम्बू जातिको मौलिक संस्कृतिभित्र पर्ने र पूर्बेली समुदायमा निकै नै लोकप्रिय रहेको धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा र लामवद्ध भएर नाच्ने गरिन्छ । लिम्बू भाषामा जुहारी वा दोहोरी शैलीमा पाःलाम (गीत) गाउँदै धान नाचिन्छ । विषेशगरी लिम्बू समुदायमा हुने विवाह संस्कार, सुख–दुःखका कार्जे (काम) मा चेली–माइती र नाता सम्बन्ध नलाग्ने कुटुम्बबीच युवायुवतीदेखि जुनसुकै उमेरका नागरिकले धान नाच्ने चलन रहेको छ ।
यस्तै मेला, हाटबजार साथै विभिन्न उत्सव र अवसरहरुमा धान नाच्ने प्रचलन रहिआएको छ । सोहीअनुसार लाखे पर्वअन्तर्गत रोपाइँ जात्राको अवसरमा धान नाच कार्यक्रम आयोजना गरिएको याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ । यता जाति विशेष पर्व तथा उत्ससहरुमा आ–आफ्नो संस्कृति प्रस्तुत गर्दै मनाउन थाल्नु र साझा सहभागिता बढ्दै जानुले कुनै पनि मौलिक संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Similar Posts