लोदेन क्षेत्र घुम्न गएका पाँचथरका एक व्यक्तिको मृत्यु
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको लोदेन क्षेत्र घुम्न गएका पाँचथरका एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं १ का ४१ बर्षिय टेकराज सिवा रहनु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले सिवासहित ९ जनाको टोली घुम्न गएको र एकजनाको मृत्यु भएको खबर त्यही टोलीका एकजना सदस्यले प्रहरीलाई गराएको जानकारी दिनुभयो । ‘फोन हतपत नलाग्न्ने रहेछ,उहाँहरुले डाँडामा चढेर जानकारी गराएको हो भन्नु भएको छ’बजगाँईले भन्नुभयो ।
‘दुःखद् घटना भयो,टेकराज जी अब रहनु भएन’टेकराजसंगै घुम्न गएका फेडरिक तुम्बापोले टेलिफोनमा भन्नुभयो । पापुङबाट प्रहरी टोली परिचालित भइसकेको जिल्ला प्रहरी प्रमुख बजगाँइले जानकारी दिनुभयो । समुद्र सतहबाट ४ हजार ३ सय मिटरको उचाईमा रहेको लोदेन उच्च हिमाली क्षेत्रमा रहेको ठाउँ हो । प्राकृतिक मनोरम दृश्य भएको लोदेन क्षेत्रमा पछिल्लो समय थुप्रै मानिसहरु अवलोकनका लागि आउने–जाने गर्छन् । शवलाई अहिले लाचाको होमस्टेमा राखिएको र प्रहरी टोली पुगेपछि आवश्यक प्रकृया सुरु हुने बताईएको छ ।