| |

ताप्लेजुङमा उल्लासमय बन्यो रोपाइँ जात्रा

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १४ । गाईजात्रा पर्वको भोलिपल्ट अर्थात पछिल्लो दिन मनाइने रोपाइँ जात्रा ताप्लेजुङमा मनाइएको छ । आइतबार सदरमुकाम फुङ्लिङ बजारमा रोपाइँ जात्रा भव्यरुपमा मनाइएको हो ।
नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा रोपाइँ जात्रा मनाइएको हो । समाजका जिल्ला अध्यक्ष शंकर श्रेष्ठका अनुसार खेतीपातीको कार्य सम्पन्न भएको खुसीयालीमा रोपाइँ जात्रा मनाउने चलन रहिआएको छ ।
मल्लकालीन समयदेखि गाईजात्रा पर्वको भोलिपल्ट रोपाइँ जात्रा मनाउन सुरु गरेको इतिहास रहेको समाजका अध्यष श्रेष्ठले जानकारी दिनुभयो । रोपाइँ जात्रा पूर्ण मनोरञ्जन दिलाउने गरी कृत्रिम रोपाइँ गरेर मनाइएको छ । नेवार समुदायको कला संस्कृतिमा आधारित रोपाइँ जात्रा मनाउनाले संस्कार संस्कृतिको जगेर्नामा सहयोग पुग्ने विश्वास रहेको श्रेष्ठले बताउनुभयो ।
रोपाइँ जात्रामा सङ्गीतमय कृत्रिम रोपाइँ गर्नुका साथै लाखे नाचसमेत प्रदर्शन गरिएको छ । सङ्गीत र बाजागाजासहित मौलिक पहिरन लगाएर धान रोपाइँ गर्दा गरिने क्रियाकलापमा जस्तै हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै फुङ्लिङ बजार परिक्रमा गरेर जात्रा मनाइएको छ ।
रोपाइँ जात्रामा कृत्रिम रोपाइँसहित अन्य अभिनय गर्नेमा नेवार मात्र नभई विभिन्न समुदायका युवायुवती सहभागी भएका थिए । नेवार समुदायको संस्कार संस्कृतिमा आधारित गाईजात्रा तथा रोपाइँ जात्रामा सबै समुदायका नागरिक सहभागी हुने गरेकाले एक अर्काको पर्व पछिल्लो समय साझाजस्तै बन्दै गएको फुङ्लिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठको भनाइ छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार नेवार समुदायको लाखेजात्रा, गाईजात्रा र रोपाइँ जात्रा, लिम्बूको चासोक तङ्नाम, राईको साकेला, हिन्दु नारीको तिजजस्ता लक्षित तथा जातीय चाडपर्वहरु साझा बन्दै गएका छन् । उक्त चाडपर्वमा गरिने क्रियाकलापहरुमा सबै समुदायका नागरिक सहभागी हुँदै आएकाले पर्वहरु साझा झैँ बन्दै गएको श्रेष्ठको भनाइ छ ।
यसअघि शनिबार ताप्लेजुङमा गाईजात्रा पर्व पनि भव्यरुपमा मनाइएको थियो । नेपाल भाषा तथा सांस्कृतिक समाजकै अगुवाइमा लाखेनाच, अन्य मौलिक सांस्कृतिक नृत्य र पछिल्लो वर्ष मृत्यु भएकाहरुको स्मृतिमा सापारु (ख्याग) प्रदर्शन गरेर गाईजात्रा मनाइएको थियो ।

Similar Posts