टाईब्रेकरमा सातदोबाटो बिरुद्ध भाग्यमानी देखियो डिफेण्डिङ च्याम्पियन सलहेस,अबको भीडन्त जर्जियन एफसीसंग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । सलहेस युवा क्लव सिराहा चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आइतवार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका अनुभवी खेलाडीले भरिएको सातदोबाटो युवा क्लव ललितपुरलाई टाईब्रेकरमा ४–३ ले ले पराजित गर्दै सलहेस चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा सेमी फाइनल पुग्ने तेस्रो टोली बनेको छ । सलहेस तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको बिजेता हो भने दोस्रो संस्करणको गोल्डकपको उपबिजेता हो । बिजयी सलहेसले अब सेमीफाइनलमा भारत काल्मिपोङको जर्जियजन युनाईटेड फुटबल क्लवसंगको भीडन्त तय गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । सहलेसका लागि फागुराम थारु,सनिष श्रेष्ठ,निषकुमार श्रेष्ठ र दीप कार्कीका प्रहारले गोलको दिशा लिएको थियो । रोहन कार्कीको प्रहार सातदोबाटोका गोलरक्षक बिशाल सुनारले बिफल बनाउनु भएको थियो । उता सातदोबाटोकोतर्फबाट प्रहार भएका ५ मध्ये ३ प्रहार मात्र गोलमा परिणत भएका थिए । सातदोबाटोकातर्फबाट बिशाल भण्डारी,सिला र श्याम मुर्मुले गोल गर्नुभयो भने विश्व लामा र श्यामेल सुनुवारका प्रहारलाई सलहेसका गोलरक्षक दीप कार्कीले रोकेर गोल हुन दिनु भएन । टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएका दीप आइतवारको खेलमा म्यान अफ द म्याच बन्दै ७ हजार रुपैयाँ बराबरको नगदेबाली अलैंची हात पार्न सफल हुनुभयो ।

खेलको सुरुआती अग्रता पनि सलहेसले लिएको थियो । सलहेसका फागुराम चौधरीले हेडरमार्फत उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रतामा लग्नु भएको थियो । तर सलहेसको अग्रता लामो समय टिकेन । सातदोबाटोका लागि समिर तामाङले डिवक्सको दायाँ भागबाट उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा ल्याउनुभयो । त्यसपछि दुबै टोलीले गर्न नसक्दा खेल टाईब्रेकरतर्फ मोडिएको थियो । सोमवार विभागीय टोली नेपाल पुलिस क्लवले झापा–११ को सामना गर्दै क्वाटर फाइनल चरणका खेल समाप्त गर्ने छ ।

Similar Posts