भदौ १२ देखि हुने चौथो ताप्लेजुङ गोल्डकपमा आठ टीम सहभागी हुने,खेलकुदलाई पर्यटनसंग जोडिदैं
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २ । भदौ १२ देखि १९ गतेसम्म ताप्लेजुङमा सञ्चालन हुने चौथो ताप्लेजुङ आमन्त्रित अन्तराष्ट्रिय गोल्डकपमा आयोजकको एक सहित आठ टीम सहभागी हुने भएका छन् । आयोजक लाखेजात्रा सञ्चालन समितिले शनिवार बिहान पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने अधिकाँस टोलीको टुङ्गो लागेपनि अन्तिम निर्णय भने एकसाता पछि मात्र सार्वजनिक गर्ने बताएको छ ।
लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार आयोजकको एक,फिदिम स्पोर्टिङ क्लव पाँचथर,खर्साङ फुटबल क्लव(भारत),झापा ११,चित्लाङ फुटबल क्लव,सलहेश फुटबल क्लव र सातदोबाटो फुटबल क्लवले प्रतियोगितामा खेल्ने निश्चित भएको छ । अर्को एक टिमका बारेमा छलफल भइरहेको र अन्तिम टुङ्गो लाग्न भने बाँकी रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । करिव ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धनसंग जोड्ने मुख्य उद्देश्य राखिएको छ । दुर्लभ जन्तु रेडपाण्डाको मस्कट सहित गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले यसबर्ष फक्ताङलुङ गाउँपालिकास्थित स्याम्दो पोखरी (करिव चारहजार आठसय मिटर) पुगेर खेल तालिका सार्वजनिक गर्ने योजना खुलाएको छ । तेस्रो संस्करणको खेल तालिका प्रसिद्ध तीर्थस्थल पाथीभरा(मुक्कुमलुङ)बाट सार्वजनिक गरिएको थियो । फाइनलको दिन खेलाइने खेलको बल भने करिव ६ हजार मिटर उचाईबाट सार्वजनिक गरी सोहि बल फाइनल खेलमा प्रयोग गर्ने तयारी रहेको लाखेजात्रा सञ्चालन समितिका उपाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
यसबर्ष अवलोकन शुल्क(टिकट दर) भने प्याकेज र खुल्ला रुपको बनाईएको छ । प्रतियोगिताका सबै खेलका लागि जनही तीनहजार रुपैयाँको प्याकेज टिकट रहेको छ । प्रतियोगिताको पहिलो चरणका चारवटा प्रतियोगिताको प्रत्येक खेलका लागि जनही तीनसय रुपैयाँ,सेमी फाइनलका दुई खेलका लागि जनही पाँचसय रुपैयाँ र फाइनल खेलका लागि जनही एकहजार रुपैयाँ टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभरको विज्ञापन प्रचारप्रसार गर्न पाउने गरी मुख्य प्रर्वद्धक(टाइटल स्पोन्सर)को खोजी भइरहेको र टाइटल स्पोन्सरले कम्तिमा २० लाख रुपैयाँ आर्थिक साझेदारी गर्नुपर्ने अवधारणा तय भएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । कम्तिमा चारहजार पाँचसयदेखि बढीमा पाँच हजार दर्शक अट्ने अस्थायी प्याराफिटको निर्माण गर्ने आयोजकको तयारी छ ।
यसबर्ष अस्थायी प्याराफिटमा घाम र पानी छेक्ने अस्थायी छानो लगाउने तयारी भइरहेको समेत आयोजक समिति अध्यक्ष मादेनले जानकारी दिनुभयो । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप प्रतियोगिताको पुरस्कार राशी भन्दा कम नहुने गरी यसबर्षको गोल्डकपको पुरस्कार राशी निर्धारण गरिने समेत मादेनले जानकारी दिनुभयो ।‘यसबर्ष हामी पुरस्कार राशी समेत बढाउने तयारीमा छौं’मादेनले भन्नुभयो । उहाँले यसको औपचारिक निर्णय भने भई नसकेको जानकारी दिनुभयो । अघिल्लो संस्करणको विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विधागततर्फ समेत पुरस्कार राखिने भएपनि विधागततर्फको पुरस्कार राशी कति हुने भन्ने निर्णय भई नसकेको समेत मादेनले बताउनुभयो । अघिल्लो बर्ष सर्बोत्कृष्ट खेलाडीले मोटर साइकल पुरस्कार पाएका थिए । यसबर्ष समेत सर्बोत्कृष्ट खेलाडीका लागि मोटर साइकल र स्कुटरमध्ये एक राखिने र यसका लागि दातासंग छलफल भइरहेको समेत मादेनले बताउनुभयो ।
आयोजक टिमको टुङ्गो लगाउन जिल्लास्थित पालिका र क्लवहरुलाई पत्राचार गरिएको र सोहि अनुसार निर्णयमा पुग्ने समेत लाखेजात्रा सञ्चालन समितिका डिल्ली गुरुङले जानकारी दिनुभयो । अघिल्लो संस्करणमा आयोजककोतर्फबाट तेल्लोक स्पोर्टिङ क्लवले सहभागिता जनाएको थियो । प्रतियोगितास्थल भानुजन माविको खेल मैदान दुबोले भरिएको र केहि समय पछि घाँस कटान र मैदान मिलाउने कार्य पूरा गरिने समेत गुरुङले जानकारी दिनुभयो । यसबर्ष प्याकेजिङमा टिकट काट्नेका लागि एक र दैनिक खेलको टिकट लिनेका लागि अर्को एक गरी दुईवटा प्रवेशद्धार बनाईने आयोजकको तयारी रहेको छ । खेल मैदान स्थलमा साँझको समयमा समेत खेल खेलाउन मिल्नेगरी बत्तिको प्रवन्ध गरिने र मैत्रीपूर्ण फुटबल भने साँझको समयमा खेलाइने तयारी आयोजकले गरेका छन् ।