भकारो सुधारका लागि ५०% अनुदान दिदैं मेरिङदेन
उज्यालो पोष्ट
ताप्लेजुङ,असार २९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ अर्थात् भकारो सुधार कार्यक्रमका लागि किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरी कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीका अनुसार स्वीकृत कार्यविधि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लगिएको हो । गाइबस्तुको मलमुत्रमा पाइने खाद्यतत्वलाई बचाउन र गुणस्तर बृद्धिका लागि सुरु गरिएको गोठ अर्थात् भकारो सुधार कार्यक्रमबाट प्राङ्गारिक खेतिलाई समेत बढावा दिनसक्ने उद्देश्य राखेर कार्यक्रम सुरु गरिएको कार्यविधिमा उल्लेख गरिएको छ । यो कार्यक्रममार्फत किसानले गोठ तथा भकारो सुधारका लागि काउम्याट खरिद देखि गोठ सुधारसम्मका क्रियाकलाप गर्न सकिने छ ।
पालिकाले यसका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको कार्यविधिमा उल्लेख गरिएको छ । यसका लागि सम्वन्धित लाभग्राहीले पशुहरुका लागि पानी र गहुत नचुहिने गरी गोठ निर्माण गरेको हुनुपर्ने,गहुँत संकलन ट्याङ्को व्यवस्था गरेको हुनुपर्ने र भकारो मलखाद फ्याक्ने खाडललाई घाम र पानीबाट जोगाउनका लागि छानोको व्यवस्था गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । अनुदान प्राप्त गर्नका लागि कम्तिमा एक माउ गाई वा भैंसी,बाख्रा कम्तिमा १० माउ र बंगुर कम्तिमा ५ माउ हुनुपर्ने प्रावधान रहेको छ ।