ताप्लेजुङका प्रजिअ दाहालद्धारा पदभार ग्रहण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २८ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले आइतवार पदभार ग्रहण गर्नु भएको छ ।
आइतवार बिहान आइपुग्नु भएका प्रजिअ दाहालले लगत्तै पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण अघि दाहाललाई सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई नेतृत्वको जिल्ला प्रशासन कार्यालयका कर्मचारीको टोलीले कार्यालयमा स्वागत गरेको थियो । पदभार ग्रहणसंगै जिल्ला सुरक्षा समितिका पदाधिकारीले प्रजिअ दाहाललाई स्वागत गर्नु भएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशी,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,दुर्गादल गुल्मका सहसेनानी सन्दीप राई सहितका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सदस्यहरुले स्वागत गर्नु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यहाँका तत्कालिन प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएसंगै यहाँको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दाहाल आउनु भएको हो । दाहाल धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीबाट यहाँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनु भएको छ । निजामति सेवाको अधिकाँस समय गृह प्रशासनमा रहनु भएका दाहाल कानुनी र व्यवहारिक दुबै बिषयको गहिराईका आधारमा निर्णय लिने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । शान्ति सुरक्षा सम्झौताहिन बिषय भएको दाहालको बुझाइ रहेको बताइन्छ ।