मेरिङदेनद्धारा‘एक विद्यालय,एक बगैँचा’कार्यक्रमका उत्कृष्ट तीन बिद्यालयको सूची सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २३ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ‘एक विद्यालय,एक बगैँचा’ कार्यक्रममा उत्कृष्ट हुने तीन बिद्यालयको सूची सार्वजनिक गरेको छ ।

पालिकाका शिक्षा अधिकृत(सातौं)खगेन्द्र कुमालका अनुसार सिंहदेवी आधारभूत बिद्यालय मेरिङदेन गाउँपालिका वडा नं २ प्रथम हुँदा पालिकाको वडा नं ४ स्थित चण्डीडाँडा आधारभूत बिद्यालय द्धितीय भएको छ । वडा नं ३ स्थित पृथ्वी माध्यमिक बिद्यालय तृतीय भएको छ । प्रथम हुनेले नगद ५० हजार,द्धितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाउने पालिकाको शिक्षा शाखाले जनाएको छ । मेरिङदेन गाउँपालिका भित्र ३६ वटा सामुदायिक बिद्यालय रहेका छन् । अनुगमन तथा सुपरीवेक्षण समितिको असार २२ गते बसेको बैठकको निर्णय अनुसार पुरस्कृत हुने बिद्यालयहरुको सूची सार्वजनिक गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष युकहाङविर हाङ्गाम (डम्बर) का अनुसार आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम अन्तर्गत ल्याइएको यस योजनालाई प्रधानाध्यापकहरूको २०८२ चैत २२ गते बसेको बैठकको निर्णयका आधारमा कार्यान्वयनमा लैजान लागिएको थियो । शैक्षिक सत्र सुरु भएलगत्तै प्रत्येक विद्यालयले आफ्नै परिसरभित्र बगैँचा निर्माण गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको थियो । उत्कृष्ट बगैँचा निर्माण गर्ने विद्यालयको नाम चालु आवको असार महिनाको दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने पालिकाको योजना थियो । कार्यक्रमबाट विद्यार्थीमा कृषि,हरियाली र वातावरणप्रतिको रुचि बढ्नुका साथै विद्यालय परिसरलाई आकर्षक र शिक्षामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Similar Posts