|

पृथ्वी आकारको अर्को ग्रह

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज ११ । खगोलशास्त्रका एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वी आकारको ग्रह पत्ता लगाएको छ । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएको हो । समूहमा मुख्य भूमिका निरौलाले खेल्नु भएको हो । उहाँ काठमाडौं मैतीदेवीका हुनुहुन्छ । ‘के२–३१५–बी’ नाम राखिएको नयाँग्रहको नासाले बनाएको स्केच(माथि) र अनुसन्धानकर्मी प्रज्वल निरौला । सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेलायत, बेल्जियम र स्विट्जरल्यान्ड लगायत मुलुकका २८ जना अनुसन्धानकर्ताहरूको टोली खटिएको थियो । उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको छ । यो ग्रहलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले समेत मान्यता दिएको छ । निरौलाले नयाँ ग्रहको खोज र सौर्यमण्डल बाहिरका ग्रहहरूको वायुमण्डल र विशेषताहरूको अध्ययन गर्दै आउनु भएको छ । उहाँका अनुसार यो ग्रह स्पेकुलोस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो । यस ग्रहको नाम ‘के२–३१५–बी’ राखिएको छ । के२–३१५ नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२–३१५–बी राखिएको कान्तिपुरसँग टेलिफोन सम्पर्कमा आएका निरौलाले बताए । उनका अनुसार पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा रहेको यो ग्रहले आफ्नो तारालाई प्रत्येक ३ दशमलव १४ दिनमा परिक्रमा गर्छ । गणितमा पाईको मान ३.१४ हुने भएकाले यो ग्रहलाई पाई ग्रह पनि भनिएको छ । यसको गति ८१ किलोमिटर प्रतिसेकेन्ड रहेको छ । अनुसन्धानले यो ग्रहको सतही तापक्रम अत्यधिक रहेको जनाएको छ । ग्रहको सतही तापक्रम १८५ डिग्री सेल्सियस रहेकाले यसमा जीवनको सम्भावना नरहेको उनले बताए । तारा नजिक भएकाले यो ग्रहको वायुमण्डल धेरै नै तातिँदा ग्रहभित्र ग्यास अडिन नपाउने र वायुमण्डल बन्न नसक्ने सम्भावना उहाँले औंल्याउनुभयो । ग्रहको वायुमण्डलसम्बन्धी अनुसन्धान हाल नगरिए पनि अनुमान लगाइएको उहाँको भनाइ छ । ‘वैज्ञानिकहरूलाई सबैभन्दा धेरै पिरोल्ने प्रश्न भनेको जीवन पृथ्वीमा मात्रै सम्भव छ भन्ने हो । हाम्रो काम भनेकै ग्रहहरूको खोज हो,’ उहाँले भन्नुभयो । ‘अहिले पत्ता लगाएको ग्रह बस्न लायकको थियो भने के हुन्थ्यो ? ग्रहहरू खोज्नु भनेको जीवन छ कि छैन भनेर हो । अनि त्यसपश्चात् अध्ययन गर्नकक नै हो,’ उहाँले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts