फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी
उज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५ लाख बढी बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २०औँ अधिवेशनबाट आर्थिक वर्ष २०८३–०८४ का लागि ५८ करोड ५५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विकास साम्राले बजेट वक्तव्य पेश गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको जनाएको छ । स्वीकृत बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ५१ लाख ८२ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १८ करोड ३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन गर्ने जनाएको छ ।
यसैबीच गाउँसभाकै अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरी गाउँपालिकाको गौरव बढाउने दुई प्रतिभालाई सम्मानसमेत गरेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफलतापूर्वक चौथोपटक आरोहण गर्दै गाउँपालिकाको लोगो विश्वसामु चिनाउन योगदान पु¥याएका फक्ताङलुङ गाउँपालिका–७ निवासी पर्वतारोही छेतेन टासी शेर्पालाई नगद १ लाख रुपैयाँ सहित कदरपत्र प्रदान गरिएको छ । त्यसैगरी सगरमाथा आधार शिविरबाट सञ्चालन हुने ४२ किलोमिटर म्याराथन दौडमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उच्च बनाएका फक्ताङलुङ गाउँपालिका–३ निवासी धावक रमेश लिम्बू तावालाई नगद ५० हजार रुपैयाँ सहित कदरपत्रद्वारा सम्मान गरिएको छ ।